काठमाडौं । बीवाईडी एसिया प्यासिफिकका सेल्स महाप्रबन्धक लिउ जुलियाङले स्वच्छ ऊर्जा प्रविधिमा अनुसन्धान र नवप्रवर्तनलाई अगाडि बढाउन काठमाडौं विश्वविद्यालयजस्ता शैक्षिक संस्थासँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
बीवाईडी अटो सेल्स डिभिजनका महाप्रबन्धक जुलियाङले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा स्थापना गरिएको ३३औं चार्जिङ स्टेसन उद्घाटन अवसरमा यस्तो बताएका हुन्।
उनले भने, ‘सहकार्यपछि विद्युतीय सवारीसाधनको बढ्दो विश्वव्यापी माग र दिगो विकासका लागि विश्वविद्यालयले खेल्न सक्ने भूमिकामा थप सहयोग पुग्नेछ। केयू र बीवाईडीबीचको सहकार्यले दिगोपन र नवप्रर्वद्धनमा थप सहयोग पुग्ने अपेक्षा छ।’
चिनियाँ गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले धुलिखेलको केयू परिसरसहित चार्जिङ स्टेसनको संख्या मुलुकभर ३३ पुगेको जनाएको छ।
केयू परिसरमा स्थापना गरिएको चार्जिङ स्टेसन उद्घाटन उपकुलपति प्रा.डा. भोला थापा र बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउले संयुक्त रुपमा गरेका थिए।
ईभी सवारीसाधन एवं नवीकरणीय ऊर्जा समाधानमा विश्वव्यापी अग्रणी बीवाईडी तथा केयूको हरित प्रविधिप्रतिको प्रतिबद्धता र वातावरणीय सचेत अभ्यासलाई बढावा दिने विश्वास कम्पनीले लिएको छ।
महाप्रबन्धक लियुले विद्युतीय गतिशीलताको महत्त्व र अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न बीवाईडीले भूमिका निर्वाह गरिरहेको बताए।
केयु र बीवाईडीबीचको साझेदारीले विद्यार्थीका लागि विशेषगरी इन्टर्नसिप र जागिरे क्षेत्रमा अवसर उपलब्ध गराउने विश्वास कम्पनीको छ।