काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकार स्थायी भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन्। शुक्रबार मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो नेपाल पावरलाइट एन्ड इलेक्ट्रिक प्रदर्शनी उद्घाटन अवसरमा मन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले नयाँ सरकार गठनसँगै आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सृजना भएको दाबी गरे।
‘दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको छ। नयाँ सरकारलाई नागरिकले समेत विश्वासमा लिएका छन्। यो सरकारले मुलुकमा लगानी वातावरण सृजना गर्छ’, उनले भने। वर्तमान सरकारलाई आर्थिक हिसाबले मुलुकलाई अगाडि बढाउने जिम्मेवारी रहेको उनको भनाइ थियो।
ऊर्जामन्त्री खड्काले वर्तमान सरकार ‘स्थायी’ भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे। धेरै कम्पनीलाई एकै ठाउँमा राखेर मेला सञ्चालन भएकाले यस्ता मेलाले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउने उनले जानकारी दिए।
उनले विद्युतीय उपकरणसम्बन्धी मेलाले मुलुकमा जलविद्युत् क्षेत्रको आन्तरिक खपत बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। मुलुकले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनले उल्लेख गरे।
सरकारले ऊर्जा क्षेत्र विकासका बाधक मानिएका नीति–नियम परिमार्जन र संशोधन प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए।
प्रदर्शनीले विद्युत्को आन्तरिक खपत बढाउने र घरायसी कामका लागि समय बचत हुने विश्वास उनले व्यक्त गरे।
तीन दिनसम्म चल्ने मेलामा स्वदेश र विदेशका ९० बढी स्टल रहेको मिडिया स्पेसका सञ्चालक श्रीजल भट्टराईले जानकारी दिए।