क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सन्जाल टिकटकमा लगाइएको रोक हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले भदौ २१ मा सूचना सार्वजनिक गर्दै टिकटकमाथि लागेको प्रतिबन्ध हटाउन इन्टरनेट र मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो। यसअघि भदौ ६ को मन्त्रिपरिषद् बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। प्राधिकरणको निर्देशनसँगै सेवाप्रदायकले टिकटक खुलाएका छन्।
केन्द्रमा सत्ता समीकरण फेरिएको डेढ महिनापछि गण्डकी सरकारमा नेकपा एमालेको इन्ट्री भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भदौ १७ मा एमालेबाट चार जनालाई मन्त्री बनाएका हुन्। एमालेका पद्मा जिसी कृषि, भूमि व्यवस्था तथा सहकारी, कृष्ण पाठक स्वास्थ्य, मित्रलाल बस्याल उद्योग तथा पर्यटन र प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा पाएका छन्। योसँगै गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिक्स २०२४ मा नेपालको खेल इतिहासमै पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेर इतिहास रचेकी छन्। पलशाले पेरिस पारा ओलम्पिकअन्तर्गत भदौ १४ मा सम्पन्न के४४ वर्गअन्तर्गत महिला ५७ केजी तौल समूहको स्पर्धामा सर्बियाकी मारिजा मिचेभलाई १५–८ अंकले पराजित गर्दै कास्य जितेकी हुन्। पलेशालाई राष्ट्रपति, प्रधानमन्त्रीसम्मले देशको नाम राखेकामा बधाइ दिएका छन्।
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै महँगो भएर रेकर्ड ब्रेक गरेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार भदौ २१ मा छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो। यसअघि भदौ १३ मा १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य आज बिहीबारको तुलनामा १३०० रुपैयाँले बढेको हो।
काठमाडौंको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जना करिब १६ करोड रुपैयाँ सर्वसाधारणको बचत रकम हिनामिना अभियोगमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले भदौ १६ मा सहकारीका उपाध्यक्ष बबिता डंगोलसहित पाँचजनालाई पक्राउ गरेको छ। उनीहरूमाथि एभरेष्ट सहकारीको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिनाको आरोप छ।
भदौ २१ को मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जाने टोलीको भ्रमण स्वीकृत गरेको छ। महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज)सम्म न्यूयोर्कमा हुनेछ। त्यसैगरी मन्त्रिपरिषद्ले दूध किसानको बक्यौता भुक्तानी गर्न दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गर्नुका साथै बागमती प्रदेशका कायममुकायम (कामु) सचिव गोविन्दबहादुर कार्कीलाई सचिवमा बढुवा र रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा, नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी, नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ।
चिनियाँ विमान कम्पनी चाइना साउदर्न एयरलाइन्स रुपन्देहीस्थित गौतमबुद्ध र पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न सहमत भएको छ। भदौ २० मा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँगको छलफलमा चाइना साउदर्नका प्रतिनिधिले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने जानकारी गराएका हुन्। ४० बढी मुलुकमा सेवा दिँदै आएको चीनको पहिलो नम्बर एयरलाइन्स चाइना साउदर्नले नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सञ्चालन गरिरहेकामा यसलाई विस्तार गरेर गौतमबुद्ध र पोखराबाट समेत उडान भर्न सहमत भएको हो।
सहकारी पीडित सरकारले आफूहरूसँग गरेका सम्झौता कार्यान्वयन माग गर्दै काठमाडौंमा फेरि प्रदर्शन गरेका छन्। सहकारीमा बचत गरिएको रकम फिर्ता हुनुपर्ने र यसअघिको सम्झौता कार्यान्वयन माग गर्दै सहकारी पीडित महासंघको अगुवाइमा भदौ १६ मा उनीहरुले प्रदर्शन गरेका हुन्। सरकारले तेस्रो चरणको आन्दोलन सुरु गर्दासम्म पनि विगतका सहमति कार्यान्वयनमा चासो नदेखाएकाले सडक आन्दोलन गर्नुपरेको महासंघले जनाएको छ।
यो साता सेयर बजारमा २२.२१ अंकको गिरावट आएको छ। साताको पाँच कारोबार दिनमा तीन दिन घटेर दुई दिन बढ्दा सेयर बजार २२.२१ अंकले घटेर २७२७.३६ बिन्दुमा सीमित भएको छ। गत साता चार कारोबार दिनमा एक कारोबार बढेर तीन कारोबार घट्दा २२४.८९ अंकले घटेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७४९.५७ बिन्दुमा रोकिएको थियो। यो साता नेप्सेमा कुल ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता ६३ अर्ब ४७ करोड बराबरको कारोबार भएको थियो।
संसद्ले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थपेको छ। प्रतिनिधिसभाको भदौ १८ को बैठकमा सहकारी प्रकरणमा थप छानबिन भइरहेकाले समिति सभापति सूर्यबहादुर थापाले पेस गरेको म्याद थपसम्बन्धी प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको होे। हालसम्म सहकारी बचत अपचलनमा संलग्न ५० जनासँग सोधपुछ गरिएको जानकारी दिएका थिए। सरकारले ३ महिने कार्यादेश दिएर जेठ १५ मा संसदीय विशेष छानबिन समिति बनाएको थियो।