काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीका लागि छुट्याएको ६० करोड छात्रवृत्ति अनुदान रकम सबै स्थानीय तहबाट वितरण भए/नभएको अनुगमन गरिने बताएका छन्।
विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाइएकाले पाए/नपाएकोबारे सरकारले अनुगमन गर्ने प्रधानमन्त्रीले आज सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।
प्रधानमन्त्रीले लेखेका छन्, ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीका लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेका लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ। यसका लागि ६० करोड अनदान दिएको छ।’
दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक १ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम उपलब्ध गराइएको उनको भनाइ छ।
‘गैरआवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । यसका लागि ५९ करोड रुपैयाँ रकम विनियोजन भएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘शैक्षिक दृष्टिले पछि परेका समुदाय,अति विकट हिमाली जिल्लाका विद्यार्थी लगायत ७ वटा लक्षित समूहका ११ हजार ४ सय विद्यार्थीका लागि मासिक ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको छ।’
तोकिएको छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरेर ससर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको र त्यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको प्रधानमन्त्रीले बताएका छन्।