काठमाडौं। अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायत स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको बागलुङ प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीका केन्द्रीय समाचार कक्षले जानकारी दिएको हो।
लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड र बागलुङ–बुर्तिबाङ खण्डक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले बताए।
लोकमार्ग अवरुद्ध हुँदा निसीखोला, पूर्वी रुकुम, जाजरकोट, रोल्पादेखि पोखरा, काठमाडौंलगायत स्थानमा जाने यात्रु अलपत्र परेका छन्। काठमाडौं, पोखरा, चितवन, बुटवललगायत ठाउँबाट तिज मनाउन गाउँ फर्किएका पनि सडक अवरुद्ध हुँदा समस्यामा छन्।
पूर्वी रुकुम र जाजरकोटका लागि काठमाडौंबाट आएका रात्रिबस बुर्तिबाङमै रोकिएको प्रहरीले जनाएको छ। अहिले पनि निरन्तर वर्षा भइरहेको हुँदा सडक खुलाउन समय लाग्ने बताइएको छ।