काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाको फर्चुना हेल्थ केयरले १ करोड ८६ लाखमा नेपाल प्रिमियर लिग (एनपीएल) लुम्बिनी टिम किनेको छ। योसँगै राणा समूहमा रहेको फर्चुना हेल्थ केयरले पहिलो पटक खेल क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले ८ फ्रेन्जाइज टिममा एनपीएल लुम्बिनी टिम फर्चुना हेल्थ केयरको नाम सार्वजनिक गरेको हो। राणाले भनिन्, ‘संसारभर अहिले खेल अर्थतन्त्र सुदृढ हुँदै गइरहेको छ। नेपालमा अर्थतन्त्र र खेलकुद एकापसमा जोडिन सक्ने भएकाले र खेलकुदलाई अझ राम्रो बनाउन कर्पोरेट क्षेत्रको प्रवेश हुनुपर्छ भनेरै हामी यसमा जोडिएका हौं।’
क्यानले सार्वजनिक गरेको टिममध्ये सबैभन्दा महँगोमा टिम पोखरा बनेको छ।
पोखरालाई नेपाल टी २० प्रालिले ३ करोड ५७ लाखमा किनेको क्यानले जनाएको छ। दोस्रो महँगोमा टिम काठमाडौं बिकेको र यसलाई कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ किनेको छ।
त्यस्तै जनकपुरलाई ड्रीम स्पोर्ट्सले २ करोड ५ लाख, लुम्बिनीलाई फर्चुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँ, चितवनलाई चितवन मेडिकल कलेजलाई १ करोड ७६ लाख १ हजार, सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ, विराटनगरलाई म्याड ड्रिम्स स्पोर्ट्सले १ करोड ५१ लाख र कर्णालीलाई हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको हो।
क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल प्रिमियर लिग आयोजना गर्दै छ।