काठमाडौं । माघ १ मनाइने माघे संक्रान्ति पर्वमा हिन्दु परम्पराअनुसार नजिकको तलाउ वा नदीमा स्नान गर्दै व्रत बस्ने गरिन्छ । व्रत बस्ने भक्तालुहरुले तरुल, गिठा, पिडांलु खाने गर्छन् । सोहि कारण यो पर्वमा तरुल, गिठा, पिडालुलगायतका कन्दमूलको कारोबार बढि हुन्छ ।
काठमाडौं उपत्यकाको सवैभन्दा ठूलो तरकारी बजार, कालीमाटी तरकारी बजारमा अहिले तरुलजन्य कन्दमूलको व्यापार बढेको छ । कालीमाटी फलफुल तथा तरकारी विकास समितिका अनुसार यसबर्षको माघे सक्रान्तिका लागि भारतबाट तरुल आयात गर्नु परेन् । अर्थात स्वदेशी उत्पादित तरुलको नै बढि कारोबार भएको छ । पुस महिना अवधिभर तरुलको सवैभन्दा बढि कारोबार भएको छ ।
सो अवधिमा हालसम्म कालीमाटी तरकारी बजारमा १२ सय ९१ टन तरुल बिक्री भइसकेको छ । कारोबार भएको अधिकांश तरुल स्वदेशी रहेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए । उनले भारतबाट नगन्य मात्रामा मात्रै तरुल आयात भएको बताए । उनका अनुसार एक महिनामा ४२ टन मात्रै भारतबाट आएको छ । बाँकी साढे १२ सय टन तरुल स्वदेशी नै कारोबार भएको देखिन्छ ।
सवैभन्दा बढि सर्लाहीबाट तरुल आएको । सो अवधिमा कालीमाटी तरकारी बजारमा सर्लाहीबाट साढे ५ सय टन तरुल आएको छ । उनले पुस महिनाभर झन्डै १५ करोडको तरुलको कारोबार भएको बताए । गतबर्ष एक हजार टन मात्रै तरुलको कारोबार भएको थियो । त्यस्तै, पिंडालु र सखरखण्डको पनि व्यापार उस्तै बढेको छ ।
यो अवधिमा ४ सय टन पिंडालु र सखरखण्ड खपत भएको छ । बजारमा तरुल अनुसार मुल्य पनि फरक छ । अहिले कालीमाटीमा औसत तरुलको प्रतिकेजी मुल्य ११०, पिंडालुको ८५ र सखरखण्डको १०५ रुपैयाँ खुद्रा मुल्यमा विक्रि भइरहेको छ । खासगरी घर तरुल, बन तरुल, पात्ले तरुल, सिमल तरुल, पानी तरुललगायत विभिन्न ठाउँमा फरक फरक प्रकृतिका तरुल हुने गर्छन् ।
खासगरी झापा, गोरखा, नवलपरासी, काभ्रे, दोलखा, धादिङ्ग, चितवन, सिन्धुली, रौतहट, उदयपुर, नुवाकोट आदि जिल्लाबाट विभिन्न किसिमका तरुल काठमाडौं उपत्यका भित्रिने गर्छन् । परम्परादेखि मानिदै आएको पर्वमा तरुलसँगै पिडालु, ध्यू, चाक्कु खाने प्रचलन छ ।
तस्विरहरू ः नाजिया श्रेष्ठ