काठमाडौं । पर्यटन व्यवसायी स्व. श्यामबहादुर पाण्डेलाई मरणोपरान्त पीपी प्रसाईं टुरिजम लाइफटाइम अचिभमेन्ट अवार्ड, २०२४ बाट सम्मानित गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा स्व. पाण्डेलाई वितरण गरिएको अवार्ड छोरा प्रवीण पाण्डेले ग्रहण गरे।
पीपी प्रसाईं फाउन्डेसनले स्थापना गरेको उक्त अवार्ड बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुरस्कार प्रदान गरिन्।
होटल संघ नेपालका पूर्वअध्यक्ष तथा सांग्रिला होटलका संस्थापक पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी थिए।
फाउन्डेसनले प्रत्येक वर्ष प्रत्येक प्रदेशका उत्कृष्ट शिक्षकलाई प्रदान गर्दै आएको ‘उत्कृष्ट शिक्षक पुरस्कार, २०८१’ बाट विभिन्न शिक्षकलाई सम्मानित गरेको छ। कोसी प्रदेशबाट फिक्कल माध्यमिक विद्यालयका मातृकाप्रसाद दाहाल, मधेसबाट जनता माध्यमिक विद्यालय, सिराहाका रामकृपाल महतो, बागमतीबाट महेन्द्रग्राम माध्यमिक विद्यालयका अम्बिका धिताललाई प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।
गण्डकीबाट माछापुच्छ्रे माध्यमिक विद्यालयका सन्तोष आचार्य, लुम्बिनीबाट कालिका मनविज्ञान माध्यमिक विद्यालय, बुटवलका युवराज कँडेल, कर्णालीबाट अमरज्योति माध्यामिक विद्यालय, सुर्खेतका अशोककुमार राई र सुदूरपश्चिमबाट सरस्वति माध्यमिक विद्यालयकी चन्द्रकला दवाडीलाई प्रदान गरिएको छ।
उनीहरुलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। सम्मानित शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ।
यसैगरी शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याएवापत १ लाख रुपैयाँ राशीको पुरस्कार राष्ट्रिय आधारभूत विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।
देशभरबाट आवेदन माग गरी शिक्षकको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकताप्रति उनीहरुको बुझाइ, शिक्षाप्रति उनीहरुको प्रतिबद्धता, सिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायत आधारमा शिक्षा विशेषज्ञ, पूर्वशिक्षक, पूर्वप्रशासक, शिक्षण क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि तथा प्रतिष्ठित व्यक्ति सम्मिलित निर्णायक समितिले पुरस्कार वितरणका लागि सिफारिस गरिएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले हरेक वर्ष नेपालको शिक्षा तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यत्तिmत्वलाई राष्ट्रिय शिक्षक पुरस्कार तथा टुरिजम लाइफटाइम अवार्डले सम्मानित गर्दै आएको छ।
विद्यार्थीलाई शिक्षाको ज्योति देखाउने शिक्षकहरुको उचित सम्मान र हौसला प्रदान गर्न र शिक्षण पेसामा आउन चाहनेलाई प्रोत्साहन गर्न स्व. पर्यटन व्यवसायी प्रजापति प्रसाईंको सम्मानमा पुरस्कार स्थापना गरिएको हो।
शिक्षा पुरस्कारको निर्णायकमा घनन्जय अधिकारी, टीका भट्टराई, रोशना सुब्बा, रिजुता महर्जन रहेका थिए। लाइफटाइम अचिभमेन्ट अवार्ड छनोट पर्यटनसम्बन्धी संस्थामा आबद्ध व्यक्तित्वको समूहले गरेको सञ्चारकर्मी एवं फाउन्डेसनका सचिव दिलभूषण पठकले बताए।
नेपालको पर्यटन क्षेत्रका पायोनियर व्यक्तित्व एवं नटराज टुर एन्ड ट्राभल्सका संस्थापक प्रसाईंको पर्यटन प्रवर्द्धन र ग्रामीण क्षेत्रसम्म शिक्षा विकासको सपनालाई आत्मसात गर्दै २०६७ साल फागुन ६ गते पीपी प्रसाई फाउन्डेसन गठन गरिएको हो। प्रसाईंको २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो।