काठमाडौं । अपराधकर्ममा रहेर पनि राजनीतिक ‘नेक्सस’का कारण दिनदहाडै मान्छे मार्नेहरु यस पटकको संविधान दिवस असोज ३ मा छुट्ने भएका छन्।
अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान दिवसका दिन छुटाउन अपराध गरेरै जेल पुगेका नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थकलगायत गरी एकै पटक १ हजार बढी कैदीको बाँकी सजाय मिनाहा सूची कारागार व्यवस्थापन विभागलाई सुम्पिएको थियाे।
सबैलाई असोज ३ मा संविधान दिवस अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट सजाय मिनाहा गराएर थुनामुक्त गरिने भएको हो।
असार ९ गते र भदौ १६ मा निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकै पटक सिफारिस हुने विभागका प्रमुख जयनारायण आचार्यले बताए ।
‘जेठ १५ गणतन्त्र दिवसका दिन माफी मिनाहा गर्नुपर्ने भए पनि सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधन प्रक्रियाले त्यतिबेला सम्भव भएन र पछि नामावाली प्रकाशित गरिएको हो। अब संविधान दिवसका दिन सरकारको सिफारिसमा परेका कैदीलाई माफी मिनाहा दिएर कारागारमुक्त गरिन लागेको हो’, आचार्यले भने।
यसअघि निकालिएको ६२० जनाको सूचीबाट १९ जनाको नाममा गुनासो आएपछि हटाइएको बताइएको छ । अब यस पटक माफी मिनाहाका लागि करिब १ हजार जनाको नाम सिफारिस हुनेछ। यद्यपि, आममाफीको संख्या सरकारको निर्णयमा भर पर्ने उनको भनाइ छ।
टीकापुर घटनामा जन्मकैद सजाय पाएका रेशम चौधरी र नेपालगन्जमा दिनदहाडै खुकुरीले मान्छे रेट्ने भनिने योगराज ढकालको बाँकी कैद माफी मिनाहा भएपछि गत वर्ष सरकार आलोचनाको शिखरमा पुगेको थियो। नेपालगन्ज घटनामा मृत्यु भएकी श्रीमतीले सर्वोच्च अदालत मुद्दा दायर गरेपछि कैद माफीलाई बदर गरेको थियो।
कैद कट्टा नियमावली संशोधन गरेर ज्यानसम्बन्धी कसुरको हकमा पीडितको सहमति लिएर मात्र कैद मिनाहा गर्नुपर्ने व्यवस्था गरिए पनि दल निकटका मान्छेलाई अपराधकर्म गरे पनि छुटाइने गरेको छ।