काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ।
बिहीबार चाईना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरु सकारात्मक रहेको बताएका हुन्।
४० बढी मुलुकमा सेवा दिँदै आएको चीनको पहिलो नम्बर एयरलाइन्सको रूपमा रहेको चाइना साउदर्नले नेपालमा समेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ।
चीनको गौन्जाउबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारको प्रशंसा गरेको थियो।
चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, ‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहन्छु। यसले द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ। तपाईंहरूको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्नेछ।’
मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिने प्रस्ट पारे।
मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भए त्यसबारेमा आफूलाई जानकारी गराउन आग्रह गरे। त्यसैगरी द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत उनले बताए।