काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भदौ २१ मा पर्ने हरितालिका तिज अवसरमा पशुपतिनाथ दर्शन व्यवस्था र पार्किङ व्यवस्थापनसहित दर्शनार्थीलाई महँगा गरगहना नलगाई आउन सूचना जारी गरेको छ।
कोषले हरितालिका तिज व्यवस्थापनसम्बन्धी जानकारी दिन बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पशुपतिनाथ दर्शनका लागि गरिएको व्यवस्थापसम्बन्धी जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा कोषका प्रवक्ता रेवतीरमन अधिकारीले भीडभाडमा गरगहना चोरी हुने, हराउने डर भएकाले महिलालाई सजिएर नआउन आग्रह गरिएको बताए।
विगत वर्षका गरगहना चोरी भएको, हराएको गुनासो धेरै आएकाले यस वर्षदेखि सार्वजनिक रुपमै गरगहना लगाएर नआउन अपिल गरिएको उनको भनाइ छ।
कोषले तिज पर्व अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको बताएको हो।
अन्य दिनमा बिहान ४ बजेदेखि दर्शनका लागि चारै ढोका खोलिए पनि तिजका लागि बिहान ३ देखि ४ वटै ढोका खुला गरिने भएको छ। तिजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए।
दर्शन व्यवस्था र पार्किङ स्थल
हरितालिका तिज अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लाइन व्यवस्था गरिने भएको छ। दर्शनार्थीले गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुदगाडेश्वर–उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी मूल ढोका हुँदै कैलाश दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ।
मित्रपार्क जयवागेश्वरी–गौशाला–भवनेश्वरी–शंकराचार्यमठ दक्षिण फलामे पुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था गरिएको कोषको सूचनामा उल्लेख छ।
त्यस्तै, पिंगलास्थानबाट वनकाली, चार शिवालय पञ्चदेवल पर्व वज्रघर–दक्षिणढोकासम्मको लाइनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिणढोका बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ताचप्पलकक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।
तिलगंगा राममन्दिर हुँदै बागमती नदी पर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको कोषले बताएको छ।
कोषले दर्शनार्थीको पार्किङका लागि तीलगंगा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौरको खाली स्थान, गुह्येश्वरीपारिको खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर अमालकोट कचहरी कार्यालय पशुपति क्षेत्र विकास कोषका सवारी साधन र पर्वसँग सम्बन्धित निकायका सवारी साधन पार्किङ गर्न सकिने सूचनामा उल्लेख छ।