काठमाडौं। भदौ २४ देखि अनिवार्य अवकाशमा जान लागेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई सैनिक मुख्यालय जंगी अड्डाबाट बिदाइ गरिएको छ। शर्मा करिब ४२ वर्ष लामो सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सकाएर अवकाश हुन लागेका हुन्।
प्रधानसेनापति शर्माको सम्मानमा आयोजित बिदाइ कार्यक्रममा रक्षासचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माबाट भएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताए। उनले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट प्रभावित रहेको उल्लेख गरे।
सचिव दंगालले नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कामुप्रधान सेनापति अशोकराज सिग्देललाई बधाइ ज्ञापन गर्दै रक्षा मन्त्रालय र सेनाबीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए।
कामु प्रधानसेनापति सिग्देलले महारथी शर्माको सन्तुलित एवं शालीन जीवनशैली, जटिल परिस्थितिको वस्तुपरक ढंगबाट सामना गर्न सक्ने क्षमताबाट आफू प्रभावित भएको सुनाए। उनले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्याउन महारथी शर्माले प्रदर्शन गरेको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताए।
प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य सांगठनिक उपलब्धि सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको उनको भनाइ छ।
उनले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव दिने रक्षा मन्त्रालयलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा प्रधानसेनापति शर्माले सेनालाई सम्झनास्वरूप उपहार उपलब्ध गराएका थिए भने सेनाको तर्फबाट प्रधानसेनापतिलाई कामु प्रधानसेनापति सिग्देलले सम्झनास्वरूप उपहार दिएका थिए।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झनास्वरूप उपहार दिएको सैनिक अड्डाले जनाएको छ।
यसअघि प्रधानसेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए।
कार्यक्रममा पूर्वप्रधानसेनापतिहरू, पूर्वरक्षा सचिवहरू, सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारी, सैनिक श्रीमती संघका पदाधिकारीलगायत अन्य विशिष्ट व्यक्ति उपस्थित थिए।