काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्र वर्षौंदेखि समस्यामा गुज्रिएको र ती समस्या तत्काल समाधान गर्न सम्भव नहरेको बताएका छन्। सरकारले समस्या समाधानका लागि समिति गठन गरे पनि सहकारी पीडितले आन्दोलन गर्दैमा समस्या हाइजम्प गरेजस्तो समाधान गर्न सम्भव नरहेको उनले बताए।
बुधबार राजधानीमा सहकारी प्रत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवस अवसरमा मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार लागि परेको प्रस्ट पारे।
‘सहकारीको समस्या अहिले मात्र आएको होइन। १२/१५ वर्षदेखि आएको हो। म आएपछि दुई सहकारी समस्याग्रस्त घोषणा भए,’ मन्त्री अधिकारीले भने, ‘सहकारीको कडा नियमन गर्ने काम अगाडि बढाएका छौं। पीडितभन्दै सडक आन्दोलन गरेर हाइजम्प गरे जस्तो परिमाण आउँदैन।’
सरकारले सहकारी क्षेत्रका सबै समस्या बुझेर हल गरिरहेको उनको बताए। ‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन नियमन स्थापना कार्य अगाडि बढाएका छौं। यसका लागि कानुन बन्दै छ,’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भन्ने विषय केही दिनमा क्याबिनेटमा लैजान्छौं। कोष खडा गर्ने प्रक्रिया अगाडि बढाएका छौं। यसका लागि नियम/कानुन बनाउन बाँकी छ।’
सरकारले गठन गरेको समितिमा सबै सहकारीको प्रतिनिधि राख्नुपर्छ आवाज उठे पनि त्यो सम्भव नभएको उनले प्रस्ट पारे। ‘सहकारी महासंघले छानेर पठाएको प्रतिनिधिले भएन भने कसरी समस्या हल हुन्छ? सबै सकारात्मक हुनुपर्यो,’ उनले भने, ‘अहिले यस क्षेत्रमा देखिएको अविश्वासमा विश्वसनीयता बढाउनुपर्छ। सहकारीप्रति अहिले भ्रम फैलाइएको छ। त्यसलाई हामीले चिर्नुपर्ने छ।’
सहकारी भनेका सबै खराब हुन कि भन्ने जस्ता हल्लाले जनतामा भ्रम फैलिएको हुँदा यस्तो क्रियाकलाप गर्न नहुने उनको भनाइ छ।
‘कोही सानो बचत गर्ने, कोही ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्,’ मन्त्री अधिकारीले भने, ‘सहकारी क्षेत्रमा नै संवेदनशील अवस्था छ। यो अवस्थामा हामीले सहकारी कर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनुपर्छ, ऐन र नियम विपरीत काम भएका भए पत्रकारले बाहिर ल्याउनु पर्छ।’
सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनु पर्ने बताए। सहकारीका विषयगत संघ तथा संस्थालाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पत्रकारले सत्यलाई सत्य र असत्यलाई असत्य भन्नुपर्ने बताइन्।