काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिका सदस्यले पनि स्पष्टीकरण सोधेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ दिन नपाउँदै अध्यक्ष अधिकारीलाई सञ्चालक समिति सदस्यले समेत अर्को स्पष्टीकरण सोधेको हो।
सञ्चालक समिति सदस्यले भदौ १२ मा लिखित पत्र पठाउँदै विभिन्न विषयमा अध्यक्ष अधिकारीसँग जवाफ मागेका हुन्। भदौ १३ को सञ्चालक समितिले दर्ता गराएको पत्रमा एयरबस ३३० एएलवाई विमान सी–चेक मर्मतमा ढिलाइ भएको सन्दर्भ, एयरबस ३२० विमानको इन्जिन मर्मत तथा ओभर हलमा ढिलाइ भएको विषय र निगमका विमान मर्मत–समभारको तालिकामा भएको ढिलाइबारे लिखित जवाफ मागेका हुन्।
सञ्चालकहरुले विभिन्न मितिमा भएका निर्णय कार्यान्वयन नभएको, घाटा बढ्दै गएको, बैंक कर्जा भुक्तानी तालिकाअनुसार नगराई निगमलाई हानिनोक्सानी पुर्याएको आरोप लगाएका छन्।
सञ्चालक समितिका उपाध्यक्ष विक्रम राई, सदस्यहरु किशोर प्रधान, अमृतमान श्रेष्ठ र सुधिरशमशेर राईको हस्ताक्षरित पत्र अध्यक्ष अधिकारीलाई अधिकारीलाई बुझाएका हुन्। तर, सञ्चालकहरुको प्रश्नको जवाफका विषयमा भने अध्यक्ष अधिकारी अहिलेसम्म मौन छन्।
अध्यक्ष अधिकारीलाई पर्यटन मन्त्रालयले ७ दिने समयावधि तोकेर ११ बुँदे स्पष्टीकरण मागेको मिति बिहीबार सकिँदै छ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे कार्यकारीको अधिकार खोसेर महाप्रबन्धक पठाउने तयारीमा छन्। अहिलेको अध्यक्षबाट निगम चल्न नसक्ने र विकल्पमा कार्यकारी अधिकारसहित महाप्रबन्धक पठाउने तयारीस्वरुप स्पष्टीकरण सोधिएको बताइन्छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय उडानमा रहेका २ वाइडबडी र २ न्यारोबडी जहाजमध्ये ३ वटा ग्राउन्डेड छन्। एउटा मात्र न्यारोबडी जहाजले उडान गरिरहेको छ भने आन्तरिक उडान ठप्पजस्तै छ।
एकैसाथ तीन जहाज ग्राउन्डेड भएपछि पर्यटन मन्त्रालय र सञ्चालक समिति अध्यक्ष अधिकारीसँग रुष्ट भएको हो। खासगरी चाडपर्व सुरु हुनै लाग्दा जहाज नउडाएको भन्दै निगम अध्यक्षको चौतर्फी विरोध भइरहेको छ।
राजीनामा देलान् कि स्पष्टीकरण?
सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर काम गरिरहेका अध्यक्ष अधिकारीले कार्यकाल नसकुन्जेल नबाहिरिन पनि पाउँछन्। यद्यपि उनको कार्यकाल एक वर्षभन्दा बढी छैन।
तर, पर्यटन मन्त्रालय र सञ्चालक समितिलाई रिझाउन नसक्ने भएपछि नैतिकताको आधारमा राजिनामा दिनुको विकल्प नभएको निगमकै उच्च अधिकारीको भनाइ छ। यसअघि कार्यकारी अध्यक्ष रहेका मदन खरेलले सञ्चालक समितिले स्पष्टीकरण सोधेपछि नैतिकताको आधारमा राजीनामा दिएका थिए।
‘खरेल र अधिकारीको सन्दर्भ पनि एउटै रहेकाले उहाँले राजीनामा दिएर सरकारलाई बाटो खुलाएकै राम्रो,’ ती उच्च अधिकारीले भने।