काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै समिट, तारा र सीता एयरले दुर्गम (पहाडी) क्षेत्रमा उडान पुनः सुरु गरेका छन्। बर्खायाम सुरु भएसँगै उडान रोकेको दुई एयरलाइन्सले पोखरा‑जोमसोम, रामेछाप‑लुक्ला र नेपालगन्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायत क्षेत्रमा उडान सुरु गरेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसममा सुधार नआएसम्म नियमित उडान रोकेको थियो। मौसम विस्तारै खुल्दै जान थालेपछि एयरलाइन्सले पोखराबाट जोमसोमको उडान सुरु गरेका छन्।
जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले भदौ १३ र तारा एयरले १८ गतेबाट दैनिक उडान सुरु गरेको जानकारी दिए। समिटले भदौ १९ गतेबाट लुक्लामा दैनिक २ देखि ३ उडान सुरु गरेको छ।
अहिले १ वटा जहाजमार्फत मात्र उडान गरिरहेकोमा केही समयपछि २ वटा जहाजले उडान गर्ने तयारी भइरहेको समिटका एकाउन्टेबल म्यानेजर मनोज कार्कीले बताए।
पर्यटकीय सिजन र चाडवाड सुरु भएसँगै हिमाली÷पहाडी क्षेत्रलाई लक्षित गरी नियमित उडान सुरु भएको कार्कीको भनाइ छ। लुक्लामा समिटले उडान सुरु गरे पनि ताराले भने असोज ४ गतेदेखि मात्र उडान गर्ने तालिका सार्वजनिक गरेको छ।
२ वटा ट्वीनअटर जहाजमार्फत रामेछापको मन्थली विमानस्थलबाट दैनिक १० देखि १५ उडान गर्न तालिका सार्वजनिक गरेको जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सले मन्थली विमानस्थललाई आधार बनाएर लुक्ला उडान गर्दै आएका छन्। पहाडी र हिमाली क्षेत्रमा उडान सुरु भएसँगै त्यस क्षेत्रमा जाने यात्रुलाई मात्र हैन, खाद्यान्न ढुवानीसमेत सहज हुन्छ।
दुर्गम क्षेत्रमा नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले पनि उडान गरिरहे पनि नियमित छैन। हाल १ वटा ट्वीनअटरले बेलाबेलामा उडान गर्दै आएको छ।
मौसम सुधारको पर्खाइमा हेलिकोप्टर
पछिल्लो समय हेलिकोप्टर दुर्घटना बढेसँगै प्राधिकरणले हिमाली क्षेत्रमा उडान रोकेको छ। मौसममा पूर्ण रुपमा सुधार नआएसम्म चार्टर उडान त्यो पनि प्राधिकरणको अनुमतिपछि मात्र गर्न पाउने प्रावधान बनाएपछि अहिले हेलिकोप्टर कम्पनी मौसम सुधारको पर्खाइमा छन्।
सामान्यतया यसअघि जहाजसँगै हेलिकोप्टरको पनि उडान सुरु हुने गरेको थियो। तर, यो पटक भने मौसममा पूर्ण रुपमा सुधार नआएसम्म हिमाली क्षेत्रमा उडानका लागि पूर्ण रुपमा रोक लगाएको छ।
यसअघि लुक्ला विमानस्थलबाट सगरमाथा क्षेत्रमा जाने पर्यटक र तिनका लागि आवश्यक सामान ओसार्ने गरेका हेलिकोप्टर कम्पनी यो पटक भने काठमाडौंमै थन्किएका छन्।
विशेषगरी हेलिकोप्टर उडान हिमाली र पहाडी क्षेत्रमा हुन्छ। तर, प्राधिकरणले मौसम पूर्ण रुपमा सुधार नभएसम्म उडान गर्न रोक लगाएपछि सबै कम्पनी समस्यामा परेको एक हेलिकोप्टर कम्पनी सञ्चालकले गुनासो गरे।
‘अहिले हेलिकोप्टरको बुकिङका लागि धेरै फोन आइरहे पनि मौसमको कारणले लिएर ढुक्क गराउने वातावरण बनेको छैन,’ ती सञ्चालकले भने।