काठमाडौं । केही वर्ष अगाडिसम्म भारतीय कम्पनीको दबदबा र बाक्लो उपस्थिति रहने नाडा अटो शोमा यस वर्ष चिनियाँ कम्पनीको वर्चस्व देखियो। यो वर्षभन्दा अघिल्ला नाडा अटो शोमा धेरै संख्यामा भारतीय कम्पनीको उपस्थिति हुन्थ्यो भने व्यावसायिक प्रतिनिधि पनि उतैका बढी हुने गर्दथे।
तर, नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १६औं संस्करणको नाडा अटो शो–२०२४ को परिदृश्य भने बदलिएर चिनियाँ कम्पनी र प्रतिनिधिको उपस्थिति बाक्लो देखिएको हो।
विगतका वर्षमा जस्तै यस वर्षको अटो शोमा भारतीय व्यवसायीको टोली नेपाल आएर अवलोकन गरी फर्कियो। साथै, भारतीय टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट र छलफल गर्यो। अटो शोमा भारतीय टोली यसअघि पनि आइरहने भएकाले खासै नौलो विषय रहेन। यद्यपि, लगातार तीन मन्त्रीसँगको भेट भने अर्थपूर्ण देखिन्छ।
अर्को महत्त्वपूर्ण विषय के भने यसअघिका अटो शोमा खासै चासो नदेखाउने चीनबाट यस वर्ष भने राजदूत र अटो व्यवसायीसहितको टोली नेपाल आएर फर्कियो। चिनियाँ अटो व्यवसायी तथा चिनियाँ राजदुत नेपालको अटो शो अवलोकन गर्न आएको यो पहिलो पटक थियो। भदौ ११ बाट सुरु भएको अटो शोमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ १३ गते भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शो अवलोकनका लागि पुगेका थिए।
हाल नेपाली अटोमोबाइल बजार ईभीमय भएको छ। नेपालमा चलेका अधिकांश ईभी ब्रान्ड चिनियाँ नै छन्। साेही कारण यस वर्षको अटो शोमा चिनियाँ अटो ब्रान्डको उपस्थिति उल्लेख्य रह्यो। केही वर्ष अघिसम्म भारतीय कम्पनीको वर्चस्व रहने अटो शोमा यस वर्ष चिनियाँ ब्रान्डले कब्जा जमाएपछि चिनियाँ राजदूत र अटो व्यवसायीको चासोमा नाडा अटो शो परेको देखिन्छ। हुन त, अटो शोमा मात्रै नभएर नेपाली सडकमा पनि चिनियाँ ब्रान्डका गाडीको उपस्थिति बाक्लिँदै गएकाे छ।
केही वर्षअगाडिसम्म भारतीय ब्रान्डले एकलौटी राज गरेको बजारमा चिनियाँ ब्रान्डको उपस्थितिले दुवै मुलुकको चासो परेको छ। नेपालमा कसले एकाधिकार जमाउने र कसको बजार हिस्सा ठूलो हुने भन्ने प्रतिस्पर्धा थप उच्च बन्दै जानेछ। यस वर्ष राजदूतदेखि व्यवसायीको नेपाल भ्रमण र सरकारमा महत्त्वपूर्ण पद ओगटेका व्यक्तिसँगको भेटघाटले पनि अटोमोबाइल बजार थप रोमाञ्चक भएको छ।
२०२३ को तुलनामा ब्रान्ड भित्र्याउने होड उच्च
२०२३ को नाडा अटो शोमा पनि चिनियाँ नयाँ ब्रान्डहरू व्यवसायीहरूले भित्र्याएका थिए। तर, हालको जस्तो नयाँ ब्रान्ड भित्र्याउने होड थिएन। यसपालि अटो शोमा राखिएका सवारीसाधन संख्या र अवलोकर्ताले रुचि देखाएको गाडीमध्ये पनि नयाँ ब्रान्डका ईभीमा मानिसको ध्यान बढी गएको अनुमान लगाउन सकिन्छ।
२०२३ को नाडा अटो शोमा कम्पनीले पुरानै ब्रान्ड र तिननको नयाँ ईभी मोडल ल्याएर प्रदर्शनी गरेका थिए। गत वर्ष पनि ईभी कै वचस्र्व थियो। तर, यस पटक सीमित ब्रान्डबाहेक सबै ईभी गाडी र नयाँ ब्रान्डका मोडल ल्याएर प्रदर्शनी राखिएका थिए। अधिकांश नयाँ ब्रान्ड अटो शोमा देखिए।
नयाँ ब्रान्डबीच रोचक प्रतिस्पर्धा
यस पटको नाडा अटो शोमा नयाँ ब्रान्डका सवारीसाधन आकर्षणको केन्द्र बने। अटो शोमा एमएडब्लू वृद्धिले प्रदर्शनीमा राखेको नयाँ ब्रान्ड नामी ह्याचब्याकमा ग्राहकको ध्यान केन्द्रित भएको देखिन्थ्यो। शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले भित्र्याएको नयाँ ब्रान्ड जेको जे सिक्स, सांग्रिला मोटर्सले भित्र्याएको नयाँ ब्रान्ड लिपमोटर, सिजी ग्रुपले भित्र्याएको अवतार, रिडाराले अवलोकनकर्ताको ध्यान तानेको थियो। यस पटकको अटो शोमा कम मूल्यका नयाँ ब्रान्डका गाडी पनि देखिए।
स्टलसँगै बढेको अवलोकर्ताको संख्या
नाडा अटो शो २०२३ भदौ २६ बाट ३१ सम्म ६ दिन चलेको थियो। १५औं संस्करणको उक्त शाे करिब ७६ हजारले अवलोकन गरेका थिए। २०२३ को नाडा अटो शोमा १२० स्टल तथा ब्लग थिए। अटो शोमा १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेइकल ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनीको सहभागिता थियो।
यस वर्षको नाडा अटो शो २०२४ मा २३ चारपांग्रे ब्रान्ड, १९ दुईपांग्रे ब्रान्ड १२ हल्का व्यावसायिक सवारीसाधनका ब्रान्डले प्रदर्शनी गरेका थिए। नाडा शोमा ३३ कम्पनीले लुब्रिकेन्ट्स, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन र ११ वित्तीय संस्थाले सहभागिता जनाएका थिए। शोमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरे।