काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्बन गर्ने हुँदा राज्यले मताधिकारको सम्मान गर्नु दायित्व हुने बताएका छन्।
स्वतन्त्र र पारदर्शी निर्वाचनदक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औं सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ। यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ। बसाइँसराइ, जलवायु परिवर्तन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश–विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक छ।’
लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुपर्ने धारणा उनले व्यक्त गरे।
विगतका निर्वाचन व्यवस्थापनका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके जनताको मताधिकारको सम्मान हुने प्रधानमन्त्रीले उल्लेख गरे।
फेम्बोसा बडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो। सम्मेलनमा ‘निर्वाचनका जल्दाबल्दा मुद्दा ः जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित भई छलफल हुनेछ।
उक्त मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरे।
सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलंका, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन्। फेम्बोसाको ११औं सम्मेलन दुई वर्षअघि भुटानको नेतृत्वमा भर्चुअल रुपमा भएको थियो।