काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पेरिसमा जारी पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।
पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मानस्वरुप पलेशालाई १० लाख र अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई पनि थप कुल १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा एनसेलले गरेको हो।
एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरुप सम्मान घोषणा गरेको हो।
एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग गर्दै आएको छ।
‘म एकदमै हर्षित छु। तेक्वान्दोको यात्रा शुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइनँ। मैले सपना देख्ने हिम्मत गरें र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ। नेपालको प्रतिनिधित्व गरेर पदक जित्न पाउँदा आफूलाई धन्य महसुस गरिरहेकी छु’, पलेशाले खुसी व्यक्त गर्दै भनिन्।
गत वर्ष एसियन पारा गेम्स्देखि परिवारजस्तै बनेको एनसेललाई खेलाडीको साथ, हौसला दिएकामा उनले धन्यवाद व्यक्त गरिन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो। यो जित नेपालको र सम्पूर्ण पारा खेलाडीको कडा परिश्रम एवं उत्कृष्ट प्रदर्शनको नतिजा हो। एनपीसीसँगको सहकार्यमा पलेशाजस्ता च्याम्पियन र राष्ट्रिय पारा खेलाडीको प्रेरणा बनेर हौसला दिन प्रतिबद्ध छौं।’
एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो।