काठमाडौं । दक्षिण कोरियाको विश्व प्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेकले पुँजी वृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ। सो कम्पनीले पुँजी वृद्धि र आईपीओ निष्कासन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सम्झौता गरेको छ।
सम्झौता पत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहले हस्ताक्षर गरेका छन्।
दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी (ईयूबी)सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले भर्खरै सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ। योसँगै यस कम्पनीले २० प्रतिशत शेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ।
नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधी उत्पादन गर्ने कम्पनी हो। हाल कम्पनीले करिब २ दर्जन ब्रान्डका औषधी उत्पादन गरिरहेको छ। यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सीईओ सुशिल पौडेलले जानकारी दिए।
हाल ५२ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले चुक्ता पुँजी वृद्धि गर्दै छ । पुँजी वृद्धिपछि कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो।
एलिट क्यापिटलले एलिट क्यापिटलले ‘रोड टु आईपीओ’ योजनाअन्तर्गत स्टार्टअपदेखि पुराना कम्पनीलाई समेत पब्लिक कम्पनीमा रूपान्तरण, पुँजी वृद्धि र व्यवसायीक प्रवर्द्धनमा परामर्श सेवा दिँदै आएको छ । मिरा बायोटेकलाई पनि आईपीओ निष्कासन अगाडी पुँजी वृद्धि, ब्रान्डिङ र बजारीकरणका लागि वित्तीय व्यवस्थापकीय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ। यसबाहेक आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ।
भक्तपुरका चाँगुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ। यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ।
ईयूबीले मिरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लूएचओ जीएमपी) प्लान्ट डिजाइन, उत्पादन र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। इयूबीसँगको आबद्धताले गर्दा, मिराले आफ्नो उत्पादनका अधिकांश उपकरण दक्षिण कोरियाबाट खरिद गरेको छ।
नेपालको औषधी उद्योगमा विशेष पहिचान बोकेको यस कम्पनीले कोरियन कम्पनीसँगको साझेदारीमा अफ्रिकन मुलुकमा समेत औषधी निर्यातको प्रयास गरिरहेको छ। यस कम्पनीमा प्राइभेट ईक्विटी संस्था बिजनेस अक्सिजनले समेत ठूलो लगानी गरिसकेको छ।
हालसम्म नेपालको सेयर बजारमा औषधीजन्य उद्योग एउटा पनि सूचिकृत छैन। दुई वटा फर्मास्यूटिकल्स कम्पनी आईपीओ प्रक्रियामा रहेका छ।