पछिल्ला केही वर्षयता गाउँसहरमा चाडपर्व मनाउने प्रचलन बदलिँदै छ। चाडपर्व मनाउने तरिका मात्रै फेरिएको छैन, यसले व्यापार, व्यवसाय थप चलायमान बनाउन पनि सघाएको छ। ठूला चाडपर्व आउनु एक/दुई महिना अगावैदेखि सुरु हुने किनमेल, साथीसंगी मिलेर आलोपालो गरी चलाइने भोजभतेर, हरेक चाडपर्वमा प्रयोग गरिने अलग–अलग परिधान तथा गरगहना र एकअर्कालाई उपहार दिने नयाँ प्रचलनले विभिन्न क्षेत्रको व्यापार तथा व्यवसाय वृद्धिमा टेवा पुगिरहेको छ।
यस वर्ष नारीहरुको सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिवपार्वतीको उपासना र पूजा गर्ने पर्व तिज भदौ २१ मा परेको छ। तर, साउन पहिलो सातादेखि नै तिज विशेष व्यापार सुरु भइसकेका छन्। विवाहित चेलीलाई माइतीघर बोलाएर हरितालिका तिजको अघिल्लो दिन दर खुवाउने चलन छ। तर, पछिल्लो समय आफन्त र साथीभाइलाई बोलाएर घरमा दर खुवाउने, नाचगान गर्ने प्रचलन बढेका कारण आर्थिक कारोबार थप फस्टाउँदो छ। अझ पछिल्लो समय विभिन्न सामाजिक संघ–संस्था र कार्यालय (सहकारी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी आदि) ले आफ्ना सदस्य तथा महिला/पुरुष कर्मचारीलाई निम्ताएर होटल, रेस्टुराँ, बैंक्वेट, पार्टी प्यालेस, क्याफे, पिकनिक स्थलमा तिज कार्यक्रम राख्ने र दर खुवाउने तथा विभिन्न किसिमका उपहार दिने प्रचलन छ।
नेपाली नारीहरुको महान् पर्वको रुपमा लिइने हरितालिका तिजमा सौन्दर्य सामग्री र पोसाकको अधिक प्रयोग हुन्छ। यसले गर्दा साडीलगायत वस्तुको व्यापारसमेत मनग्य हुने गर्छ। विभन्न संघ–संस्थालगायत रोजगार प्रतिष्ठानले आयोजना गर्ने तिजको दर खाने कार्यक्रम साउन लागेदेखि नै होटल, पार्टी प्यालेस, रेस्टुराँलगायत अग्रिम बुकिङ भइरहेको सम्बन्धित व्यवसायी बताउँछन्।
विगतका वर्षमा बिक्री हुने सामग्री र अहिलेको सामग्री बिक्री अवस्थामा परिवर्तन आएको छ। घरपरिवारमा मात्रै तिजको दर खाने चलन हाल होटल तथा पार्टी प्यालेससम्मै पुगेको छ। सौन्दर्य सामग्री प्रयोग बढ्दो छ भने तिजमा बजाइने र सिर्जना गरिने गीतमा पनि फरकपन आएको छ। आधुनिक ढंगमा तिज मनाउने प्रचलन बढ्दा महिलाको माग, प्रयोग सामग्री र प्रचलनमा पनि व्यापक परिवर्तन आएको छ। यसलाई कतिपयले भड्किलो, खर्चिलो र समाजले पचाउनै नसक्ने व्यवहारका रुपमा समेत अँगालिन थालेको भनेर आलोचना गर्न थालिएको छ।
ठूला चाडपर्व आउनु एक/दुई महिना अगावैदेखि सुरु हुने किनमेल, साथीसंगी मिलेर आलोपालो गरी चलाइने भोजभतेर, हरेक चाडपर्वमा प्रयोग गरिने अलग–अलग परिधान तथा गरगहना र एकअर्र्कालाई उपहार दिने नयाँ प्रचलनले विभिन्न क्षेत्रको व्यापार तथा व्यवसाय वृद्धिमा टेवा पुगिरहेको छ।
व्यवसायीका अनुसार एक वर्षभरिमा हुने कारोबारको करिब ६० प्रतिशत हिस्सा चाडपवले ओगट्ने गर्छ। विदेशमा जाने नेपालीले पनि चाडपर्व सहज रुपमा घरपरिवारले मनाउन पाउन् भनेर विप्रेषण (रेमिट्यान्स) पठाउने गर्छन्। यसले चाडपर्वमा किनमेलमा खर्चको अवसर उपलब्ध गराइदिनुका साथै रौनक सिर्जना गरेको पाइन्छ। व्यवसायीका अनुसार पछिल्लो केही वर्षयता तिज विशेष किनमेलको हिस्सा बढ्दै गएको छ। होटल, पार्टी प्यालेस तथा बैंक्वेटहरुमा आयोजना गरिने कार्यक्रमले कारोबार शतप्रतिशत बढेको छ। खासगरी तिज लक्षित महिलाका परिधान (साडी, ब्लाउज, कुर्था, सुरुवाल), सौन्दर्य सामग्री (पोते, चुरा, टीका, धागो) र विभिन्न किसिमका गरगहनालगायत पहिरनको व्यापार एक/डेढ महिना अघिदेखि नै हुने गर्छ। यतिबेला तिज चहलपहल बढिरहेको छ। तिज लक्षित शृंगार सामग्री र लत्ताकपडा आइसकेको र धमाधम कारोबार भइरहेको व्यवसायी बताउँछन्।
पछिल्लो समय तिज आएको संकेत गीत–संगीतमार्फत पनि दिइन थालेको छ। दुई महिनापूर्व नै तिज लक्षित गीत–संगीत बजारमा ल्याउन कलाकार, रेकर्डिङ हाउस, सुटिङ स्पट, उत्पादक, प्रसारक व्यस्त हुने गर्छन्।
महिनाअघि क्याफे तथा पार्टी प्यालेसमा दर
कोभिड–१९ का कारण केही वर्ष ओझेल परेका होटल, क्याफे तथा पार्टी प्यालेसको तिज कार्यक्रम फेरि मौलाउन थालेको छ। पछिल्लो तीन वर्षयता पार्टी प्यालेसमा दर खाने कार्यक्रम बढ्न थालेका छन्।
बालुवाटार प्यालेस तथा बैंक्वेट भदौ पहिलो साताबाट तिज कार्यक्रमका लागि बुकिङ भइसकेको छ। अफिस, क्लब, बाहिरी समूहले तिज मनाउन बैंक्वेट बुकिङ गरिरहेको सञ्चालक मुक्ति दाहाल बताउँछन्। तिज आउनु महिना दिनअघि नै दर खाने कार्यक्रम सुरु हुन्छन्। तिज आउनुअघि १०–१५ दिन पार्टी प्यालेसमा भीडभाड हुन्छ,’ सञ्चालक दाहाल भन्छन्, ‘तिज महिलाको पर्व भएकाले नाफा कमाउनेभन्दा पनि सहयोग गरेर भोलिका दिनमा केही कार्यक्रम गर्नुपर्दा आफ्नै पार्टी प्यालेसमा आउन् भन्ने आसमा छुट्टै ‘मेनु’ बनाएर लागत उठाउने गरेका छौं।’ बालुवाटार प्यालेस तथा बैंक्वेटको वार्षिक कारोबारको आधा हिस्सा तिज कार्यक्रमले ओगट्ने दाहाल बताउँछन्। आधुनिक तवरबाट तिज मनाउने प्रचलनले समग्र होटल, प्यालेस तथा बैंक्क्वेटहरुको व्यापारसमेत बढ्न थालेको दाहालको बुझाइ छ।
सुन मूल्य बढ्दा फस्टायो नक्कली गहना बजार
नेपालमा सुनको व्यापार हुने मुख्य सिजन विवाह लगन र चाडपर्व हो। नेपालीले चाडपर्व अवसर पारेर सुनचाँदीका गरगहना खरिद गर्छन्। पछिल्लो समय सक्कली सुनको मूल्य (प्रतितोला डेढ लाख) बढ्न थालेपछि निम्न तथा मध्यम वर्गीयको रोजाइमा ‘ग्यारेन्टेड’ नक्कली सुनका गहना पर्न थालेका हुन्। यसले सुन पसलमा सक्कलीको बिक्री घट्दा नक्कली सुनको बिक्री चकाचक छ।
महिला सौभाग्य प्रतीक मानिने चुरा,पोतेलगायत शृंगार सामग्रीको व्यापार पनि तिज अवसरमा हुने अर्को ठूलो कारोबार हो।
झट्ट हेर्दा सक्कलीजस्तै देखिने, सस्तोमा पाइने र चोरी तथा हराउने डर पनि नहुने भएकाले नक्कली सुनका गहना खरिद बढ्न थालेको हो। अझ पछिल्लो समय देखासिकीका कारण सुन लगाउने प्रवृत्ति बाक्लिँदो छ। यस्तोमा नक्कली गहनाले ठाउँ पाइरहेको हो। तिजअघि सुन मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ। महिलाले तिज पर्वका लागि गहनाको रहर मेटाउन पनि नक्कली सुन कारोबार बढिरहेको व्यवसायी बताउँछन्।
ललितपुर जावलाखेलमा नक्कली सुन एवं विभिन्न ज्वेलरी थोक तथा खुद्रा बिक्री गर्दै आएको तुलसा कलेक्सनमा ग्राहकको भीड लागेको छ। तुलसा कलेक्सनमा लकेट, झुम्का, रानीहार, मिनीहार, ब्रासलेट, ब्राइडल सेट, मोती माला, स्टोन, हेयर क्लिप, क्रिस्टललगायत सामान किन्नेको भीड देखिन्छ। तुलसा कलेक्सन सञ्चालक तुलसा अधिकारीका अनुसार अनलाइन र पसल दुवैबाट सामान बिक्री हुने गरेको छ। ‘५ सयदेखि ४५ हजार रुपैयाँसम्म पर्ने तुलसा कलेक्सनका सामान नेपालभित्र मात्र नभएर विदेशमा पनि जान्छन्,’ तुलसाले भनिन्। भौतिकभन्दा अनलाइन कारोबारमा जोड दिइरहेकी तुलसाले यो वर्ष तिज विशेष व्यापार बढेको बताउँछिन्।
नक्कली गहना पसलमा ग्राहक भीडले व्यवसायीलाई भ्याई–नभ्याई भइरहेको अवस्थामा सक्कली सुन पसलका व्यापारी भने ग्राहक नपाएर निरास छन्। यद्यपि तिज विशेष भनेरै सुन व्यापार नभए पनि अरु समयमा भन्दा साउन र तिजका बेला केही बढी कारोबार हुने व्यवसायी बताउँछन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष अर्जुन रसाइली भन्सार दर वृद्धि हुनुको कारण सुन कारोबार न्यून भएको ठान्छन्। ‘२० प्रतिशत भन्सारले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगो भएको छ। यो वर्ष बजेट भाषणपछि आएको सुन ५–१० किलोभन्दा उठेको छैन,’ अध्यक्ष रसाइली भन्छन्, ‘त्यसअघि २०७९/८० मा पनि कम सुन उठेको थियो।’ सरकारले २०८१/८२ को बजेटमा सुनमा यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सार बढाएर २० पुर्याएको छ।
त्यसो त, विगतमा कतिपय बेला ५–६ हजार किलो मात्र सुन आउने गर्दथ्यो भने कुनै समय ५ हजार किलोसम्म पनि खपत भएको उनको भनाइ छ। तर, पछिल्लो समय सुन न्यून खपत भएको रसाईलीको भनाई छ। ‘गत वर्ष साउनमा ८९ किलो काँचो सुन बिक्री भएको थियो। तर, असारमा १२ किलो सुन मात्र बिक्री भयो। यस्तो कारोबार तिजकै लागि भएको भन्न मिल्दैन,’ अध्यक्ष रसाइलीले भने, ‘ग्राहकको इच्छा साउन/भदौमा सुन किन्ने हुन्छ। अलिकति बढी बिक्री हुँदैमा तिजले व्यापार बढ्यो भन्ने मिल्दैन।’
घट्दो कस्मेटिक व्यापार
महिला सौभाग्य प्रतीक मानिने चुरा,पोतेलगायत शृंगार सामग्रीको व्यापार पनि तिज अवसरमा हुने अर्को ठूलो कारोबार हो। आर्थिक मन्दीका कारण तिज आयो भनेर विगत वर्षमा जस्तो व्यापार नभएको र ग्राहक मितव्ययी भएको व्यवसायीको अनुभव छ।
इन्द्रचोक मखनमा रहेको पीएनसी ट्रेडर्स कस्मेटिक थोक (होलसेल) पसल सञ्चालिका सीता पराजुली अत्यावश्यकबाहेकका सामग्रीमा पहिलाजस्तो ‘एक्स्ट्रा सपिङ’ ग्राहक नभएको बताउँछिन्। ‘वर्षौंदेखि व्यापार गरिरहेकाले ग्राहकले कसरी सामान किन्छन् भन्ने बुझिहाल्छौं। अति आवश्यकबाहेकका सामग्रीलाई फजुल खर्च मान्न थालिएको छ,’ पराजुली भन्छिन्, ‘२०७२ भूकम्पपछि राम्रो रहेको कस्मेटिक सामग्री व्यापार कोरोनापछि घट्दो छ। अझ गत वर्षदेखि त शून्य भन्दा नि हुन्छ।’
नेपाली महिलाले हरिया चुरा लगाने महिनालाई पनि विशेष रुपमा मनाउँदै आएका कारण कस्मेटिक सामानको व्यापार साउनदेखि नै सुरु हुने गरेको पाइन्छ। यो समय हरिया, पहेंला चुरा, पोते, नेल पोलिस, मेहेन्दी बढी बिक्री हुने गर्दछ। कस्मेटिक सामानमा क्रिम, फेसवास, बडी लोसन, टप, पफर्युम, लाइनर, गाजल, आइस्याडोलगायत चीज दैनिक प्रयोगमा आउने प्रसाधन हुन्।
तिज आउन महिना दिन बाँकी रहँदै ब्युटी पार्लर भरिभराउ देखिन थालेका छन्। तर, व्यवसायी कम मूल्यमै सेवा दिनुपरेको गुनासो गर्छन्। महिलाहरु कपाल काट्न, स्ट्रेट गर्न, कपाल रंग्याउन ब्युटी पार्लर जाने गर्छन्। फेसियल हाउस सञ्चालिका सुष्मा महरा सौन्दर्य सामग्रीमा भन्सार दर बढेका कारण खासै व्यापार नभएको बताउँछिन्।
‘सौन्दर्य सामग्रीको मूल्य र भन्सार बढेको बढेकै छ। खाली किन बस्नु भनेर न्यून मूल्यमा सेवा दिएका कारण सेवाग्राहीको भीड देखिन्छ तर आम्दानी खासै छैन,’ महराले भनिन्, ‘यो समय हामीले बाँच्न सिकेका छौं। मासु खाने पैसा नआए पनि गुन्द्रुक खाने पैसा जुटाउन खाली बस्न नपरोस् भनेर काम गरिरहेका छौं।’
आर्थिक मन्दीलाई लक्षित गरी कम मूल्यमा काम गरिएको बताउँछिन्, अर्की व्यवसायी लीला राई। कोरोनामा खस्किएको व्यापार उठ्ने संकेत अहिलेसम्म नदेखिएको उनको दाबी छ। ‘यो वर्ष अब व्यापार राम्रो हुन्छ भन्ने आधार छैन। अहिलेको अवस्था त कोरोनाभन्दा नाजुक छ,’ राईले भनिन्।
रोजाइमा साधारण कुर्था र सारी
पहिले फुटपाथ व्यापार हुने गथ्र्यो। फुटपाथमा व्यापार हुँदा निम्न तथा मध्यम वर्गीय परिवारका मानिस त्यहीँबाटै किनमेल गर्थे। तर, अहिले नेपालका प्रमुख सहरमा फुटपाथ व्यापारमा प्रतिबन्ध लगाइँदा बजारमा ग्राहकको भीड देखिन्छ। बजार भीडअनुसार व्यापार मनग्य हुनुपर्ने हो। तर, त्यसो नहुनुमा व्यवसायी बजारलाई मन्दी लागेको बताउँछन्।
पछिल्लो समय अनलाइन माध्यमबाट हुने व्यापार (ई–कमर्स) सहरबजारमा मात्रै होइन, ग्रामीण क्षेत्रमा पनि फस्टाउँदो छ। व्यस्त जीवनशैलीलाई प्रविधि प्रयोगले किनमेलमा सघाएको छ।
सुकेधारास्थित देवयानी बुटिक सञ्चालिका सम्झना बुढाथोकीले बजारमा जति भीड देखिए पनि सामान किन्ने ग्राहक संख्या कम रहेको बताइन्। ‘पहिले तिजको अवसरमा सपिङ गर्ने महिला कम हुन्थे। सस्तो सारी किन्नेले पनि २ हजार रुपैयाँदेखि किन्थे तर अहिले प्रायः सबै महिलाले तिजको सपिङमा सस्तो कपडा रोज्छन्।’
कल्पु कलेक्सन लगनखेलमा सारी तथा कुर्थाको रामै्र व्यापार भइरहेको सञ्चालिका कल्पना भण्डारीले बताइन्। आफ्नो पसलमा सस्तो मूल्यमा सामान पाइने र ग्राहक मागअनुसार अर्डर गरिने हुँदा राम्रो व्यापार भइरहेको उनको भनाइ छ। ‘विगतमा विभिन्न किसिमका कपडाको माग हुन्थ्यो तर पछिल्लो समय सारी र कुर्था किन्ने ग्राहकको भीड छ, भण्डारीले भनिन्, ‘कम मूल्यका सामान रोजाइमा पर्दा ल्याएकै मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ।’
फस्टाउँदो अनलाइन व्यापार
पछिल्लो समय अनलाइन माध्यमबाट हुने व्यापार (ई–कमर्स) सहरबजारमा मात्रै होइन, ग्रामीण क्षेत्रमा पनि फस्टाउँदो छ। व्यस्त जीवनशैलीलाई प्रविधि प्रयोगले किनमेलमा सघाएको छ। यसबाट थोरै पुँजीमा व्यापार व्यवसाय सञ्चालन गर्न सकिने अवस्था बनेको छ। यसले धेरै मानिस अनलाइन व्यवसायमा जोडिएर स्वरोजगार बन्ने र अरुलाई पनि रोजगार सिर्जनामा परिपाटीले चाडपर्वको किनमेल परिवर्तित भइरहेको हो।
भौतिक उपस्थितिमा किनमेल गर्नेभन्दा अनलाइन किनमेल गर्नेको संख्या बढ्दो छ। मानिसले आफूलाई आवश्यक पर्ने विभिन्न सामान अनलाइबाटै खरिद गर्न थालेका छन्। सारी, कुर्था सुरुवाल, कस्मेटिक सामग्री, ज्वेलरी, झुम्का, चुरा, पोते, क्रिम, फेसवासलगायत सामान अनलाइनबाटै किन्ने गरेको पाइन्छ। यसले भौतिक कारोबारलाई घटाइरहेको देखिन्छ। भौतिक कारोबार नभएपछि व्यवसाय चौपट भएको गुनासो गर्ने व्यवसायीको संख्या पनि बढ्दो छ। तर, वस्तु खपत भने नघटेको कतिपय व्यवसायी बताउँछन्।
अनलाइनमा सामान खरिद गर्ने ग्राहक संख्या बढेपछि अनलाइन व्यापार गर्ने व्यवसायी पनि बढ्दै गएका छन्। जुनेली इथनिककी लक्ष्मी तामाङ अनलाइनमार्फत सारीको व्यवसाय गरिरहेकी छन्। उनले पसल नराखीकनै घरमा सामान राखेर ग्राहकलाई बेचिरहेकी छन्।
‘अहिले बजारमा धेरै अनलाइन व्यवसायी छन्। कुनै अनलाइनले ग्राहकले अर्डर गरेभन्दा फरक र बिग्रेको (ड्यामेज) सामान डेलिभरी गर्ने, सामान साट्न आनाकानी गर्नेजस्ता समस्याले अनलाइन व्यवसायलाई तुरुन्तै विश्वास गरिहाल्ने अवस्था बनेको छैन,’ तामाङ भन्छिन्, ‘एकचोटि सामान किनेका ग्राहक नियमित आउँदा भने अनलाइन व्यापारबाट सन्तुष्टि मिलेको छ।’
भौतिक उपस्थितिमा सामान खरिद गर्नुअघि ग्राहक आफैंले हेरेर छनोट मौका पाउँदा विश्वास गर्न गाह्रो हुँदैन। अनलाइनमा त्यो सम्भव नभएकाले फोटो तथा भिडियोका माध्यमबाट मानिसले झट्टै किनिहाल्न गाह्रो हुन्छ। यदाकदा व्यवसायीले फट्याइँ गर्दा अनलाइन कारोबारमा ग्राहकलाई विश्वास दिलाउन मुस्किल हुने गरेको तामाङको अनुभव छ।
गुल्जार सांगीतिक क्षेत्र
साउन लागेसँगै नेपालमा तिजका गीतको बाढी आउने गर्छ छ। गीतकारले तिजलाई लक्षित गरेर विभिन्न खाले गीत बजारमा ल्याउने गर्छन्। यो वर्ष पनि तिज लक्षित धेरै सार्वजनिक भइसकेका छन्। तिजमा दिदीबहिनीले गीत गाएपछि बाआमा र दाइभाउजू नजोडिँदासम्म त्यो अपुरो मानिन्छ। अरु समय दाजुभाइको गीत धेरै आउने गर्छन्। तर, तिज महिलाको विशेष पर्व भएकाले कतिले रहरले त कतिले व्यावसायिक तबरमा गीत बजारमा ल्याउने गर्छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा गायक बद्री पंगेनी चाडपर्व विशेषका भाकामा तिजका गीत अलि बढी आउने गरेको बताउँछन्। ‘दसैं, तिहार १५ दिनभित्र सकिन्छ तर, तिज उस्तै परे डेढ महिनासम्म चलिरहन्छ। अहिले तिजका कार्यक्रमले विभिन्न पार्टी प्यालेस भरिन लागिसके,’ गायक पंगेनी भन्छन्, ‘तिज लामो समय रहिरहने भएकाले दर्शक/श्रोताले आफ्ना सिर्जना हेरेर/सुनेर केही लगानी उठ्ला/फाइदा होला भन्ने हिसाबमा धेरै गीत आउँछन्।’ तिज लक्षित मात्रै २ सय बढी गीत बजारमा आउने गरेको बताउँदै पंगेनी भन्छन्, ‘अरु बेला गीत नगाएकाहरु पनि तिजको समय गाउनेको संख्या ठूलो छ।’