काठमाडौं। कास्की प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा नाम मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ।
कास्की प्रहरीले सहकारीको रकम गोरखा मिडिया (ग्यालेक्सी टेलिभिजन)मा लगानी भएको र लामिछानेको पनि हिस्सेदारी रहेकोबारे सोधपुछ गरेको हो।
लामिछानेलाई काठमाडौं आएर कास्की प्रहरीले बयान लिएको बताइएको छ।
भदौ १३ मा सहकारी बचत दुरुपयोग संसदीय छानबिन समितिले लामिछानेको सहकारी ठगी प्रकरणबारेमा बयान लिइसकेको छ।
यद्यपि लामिछानेले छानबिन समिति र कास्की प्रहरीलाई आफू निर्दोष रहेको र सहकारी घोटालामा संलग्न नभएको भन्दै बचाउ गरिरहेका छन्।
कास्की प्रहरीसँगको बयानमा पनि लामिछानेले गोरखा मिडियामा जोडिँदा सहकारीबाट लिएको रकमबारे थाहा नभएको र संस्थाबाट राजीनामा दिइसकेकाले जिम्मेवारी नलिने जवाफ दिएका छन्।
अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो। लामिछानेसँग कास्की प्रहरीले भदौमा १० मा बयान लिएको बताएको छ।
कास्कीबाट डीएसपी वसन्तकुमार शर्माको नेतृत्वमा टोली लामिछानेसँग बयान लिन काठमाडौं आएको थियो।
डीएसपी शर्मा नेतृत्वको टोलीले भदौ ८ र ९ मा गोरखा मिडियासँगै नेचर हब्र्स र नेचर नेष्ट इन्टरनेसनल कम्पनीको कार्यालयमा छापा मारेको थियो। यी दुवै कम्पनी गोर्खा मिडिया नेटवर्क र सूर्यदर्शन सहकारी अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईकै समूहले कम्पनी सञ्चालन गरेको छ। राईको समूहमा लामिछाने जोडिएका सहकारी रकम अपचलनमा संलग्न भएको आरोप लाग्दै आएको छ।