काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ सम्पन्न भएको छ।
काठमाडौंको होटल ले हिमालयमा सञ्चालित क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु–साझेदारी मोडलबारे स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा पेशेवरलाई बृहत् जानकारी दिइएको क्यान महासंघले जनाएको छ।
आईक्यान र कोरिया इन्टरनेट एन्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलो पटक यो कार्यशाला आयोजना गरिएको हो।
कार्यशालामा इन्टरनेट गभर्नेससम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेम, मक आईक्यान कन्फ्रेन्सजस्ता विभिन्न अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएका थिए।
उक्त अवसरमा आयोजक क्यान महासंघ अध्यक्ष रणजीतकुमार पोदारले क्यानले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगाजस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्तालाई महत्त्वपूर्ण प्रशिक्षण प्राप्त हुने विश्वास व्यक्त गरे।
पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीति निर्माण प्रक्रियामा युवा सहभागिता र सक्रियतामा जोड दिँदै आईजीएफ क्योटोमा आफू सहभागी हुँदा प्राप्त अनुभव र नेपालमा यसलाई कार्यान्वयन गर्ने उपायबारे प्रकाश पारिन्।
कार्यक्रमका की–नोट स्पिकर ई–गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य–सचिव ई. दीपेश विष्टले डिजिटलाइजेसन प्रक्रियासँग सरकारी प्रक्रियाको समन्वय आवश्यकता र एकल डाटा आदान–प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
त्यसैगरी अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सरोकारवालाको भूमिकालाई स्थान दिइनुपर्ने आवश्यकता औंल्याए।
पहिलो दिनको दोस्रो सत्रमा इन्टरनेट गभर्नेन्सको परिचयबारे श्रीदीप रायमाझीले प्रस्तुति दिएका थिए, जसमा इन्टरनेट गभर्नेन्स के हो र र प्रमुख सरोकारवाला को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको थियो। अर्का प्रस्तुतिकर्ता दीक्षा राउतले इन्टरनेट गभर्नेन्समा आफ्नो अनुभव र यात्रा सुनाउँदै युवाले यस्ता फोरममा सक्रियतापूर्वक सहभागिता जनाउनुपर्नेमा जोड दिइन्।
सोही दिन इन्टरनेसनल कर्पोरेसन फर असाइन्ड नेम्ज एन्ड नम्बर्ज (आईक्यान) को परिचयबारे सेसन सञ्चालन गरिएको थियो, जसमा आईक्यानका प्रतिनिधि यश अग्रवालले संस्थाको भूमिका, यसको संगठनात्मक संरचना र नीति निर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिए।
चौथो सत्रमा एसिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (एपनिक) को परिचयबारे दिव्या खतिवडाले प्रस्तुति दिएकी थिइन् भने एपनिक फेलोद्वय करिश्मा पराजुली र इशारा ढकालले आफ्नो अनुभव सुनाए।
त्यस्तै, एपिगा नेपालका टिम लिडर विवेक सिलवाल र कार्यक्रम संयोजक उदीप बरालले आईक्यानसँगको आफ्नो यात्राबारे जानकारी दिँदै युवाहरूले कसरी यसमा सहभागी हुन सक्छन् भन्ने विषयबारे प्रकाश पारे।
पाँचौं सत्रमा ‘नेपालको परिप्रेक्ष्यमा इन्टरनेट गभर्नेन्स’ विषयमा प्यानल डिस्कसन आयोजना गरिएको थियो, जसको मोडरेटरमा गभर्नेन्स, रिस्क र कम्प्लायन्स (जीआरसी) प्राक्टिस लिड विवेक एस राणा थिए।
सो अवसरमा प्यानलिस्ट जनरल टेक्नोलोजी प्रालिका सीईओ सुनैना पाण्डे, क्यान महासंघ अनुसन्धान तथा विकास समितिका अध्यक्ष हेमपाल श्रेष्ठ, सुबिसु केबल नेटका उपाध्यक्ष तथा म्यानरर्स पोलिसी एम्बेसडर एवं आईक्यान एसएस आरटु रिभियू सदस्य रामकृष्ण परियार र सफ्टवेरिका कलेज अफ आईटीका क्याम्पस प्रमुख प्रमोद पौडेलले नेपालको सन्दर्भमा इन्टरनेट गभर्नेन्सको अभ्यास र अवस्थाबारे आफ्ना धारणा राखे।
कार्यक्रममा समिक खरेलले आईक्यानका सहयोगी संगठनहरू, सल्लाहकार समिति संरचना र उनीहरूको भूमिका तथा आईक्यानको नीति निर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिए।
कार्यक्रमको दोस्रो दिनको सुरुआतमा एपिगा नेपाल टिम लिडर सिलवालले संयुक्त राष्ट्रसंघको इन्टरनेट गभर्नेन्स फोरम (यून–आईजीएफ) र ग्लोबल मल्टी–स्टेकहोल्डर तथा बहुपक्षीय प्रक्रियाहरूका बारेमा प्रस्तुति दिएका थिए।
समापन समारोहमा युथ इनोभेसन ल्याबकी कार्यक्रम संयोजक अरुणा जोशीले मन्तव्य दिँदै डिजिटलकरणमा युवा संलग्नता र नेपालका युवाका लागि आगामी बाटोको महत्त्वमाथि प्रकाश पारिन्।
कार्यक्रममा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालमा इन्टरनेट गभर्नेन्सको भविष्य निर्माण गर्न बलियो आधार खडा भएको बताउँदै नीति निर्माता, प्रयोगकर्ता, नियामक, टेलिकम अपरेटर, आईएसपी र अन्य मुख्य सरोकारवालाबाट महत्त्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिए।
कार्यक्रमलाई वल्र्डलिंक, ग्लोबल आइएमई बैंक, एडुटेक इन्टरनेसनल, सफ्टवेरिका कलेज अफ आइटी, म्याक्स इन्टरनेसनललगायतको सहयोग थियो।