काठमाडौं। भृकृटीमण्डपमा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले १६औं संस्करणको अटो मेला सम्पन्न गरिसकेको छ। यस पटकको ‘नाडा अटो शो २०२४’ मा प्रतिमिनेटमै २ सवारी साधन बुकिङ भएको तथ्यांक बाहिर आएको छ।
भदौ ११ गतेदेखि ६ दिनसम्म चलेको उक्त मेलामा दुईपांग्रे र चारपांग्रे गरी कुल ६ हजार सवारी साधान बुकिङ भएको नाडाले उल्लेख गरेको छ। उक्त अटो मेलामा व्यवसायीहरुले औषतमा प्रतिमिनेटमै २ वटा सवारी साधन बुकिङ गर्न सकेका हुन्।
मेलामा ४ हजार चारपांग्रे र २ हजार वटा दुईपांग्रे सवारी साधन बुकिङ भएको तथ्यांक नाडामा सहभागी कम्पनीहरुले सार्वजनिक गरेका हुन्।
कम्पनीहरुले गरेको दावी अनुसार हरेक मिनेटमा २ गाडी बुकिङ भएको पाइन्छ। तर, कम्पनीहरुले दावी गरेअनुसार ६ हजार गाडी बुकिङ वास्तविक रुपमा भएको हो वा होइन भन्ने विषय प्रश्नयोग्य छ। गत वर्ष २०२३ को नाडा अटो शोमा ७४ हजारले अवलोकन गरेकामा २ हजार बढी गाडी बुकिङ भएको नाडाले जानकारी दिएको थियो। गत वर्षको तुलनामा यो वर्ष २ सय प्रतिशत बढी सवारी साधन बुकिङ भएको देखिन्छ।
नाडा अटो शोको नतिजा
नाडाको तथ्थांकअनुसार ६ दिनमा करिब ६ हजार गाडी बुकिङ भएको छ। कसरी भयो त एक मिनेटमा २ वटा सवारी साधन बुकिङ? बुकिङ भएको संख्यालाई घण्टा र मिनेटको हिसाबकिताव गर्दाः
नाडा अटो शो बिहान ११ बजेदेखि बेलुका ६ः३० सम्म चलेको थियो। कुल ६ दिनमा ४५ घन्टा अर्थात् कुल २७०० मिनेट मेला सञ्चालन भयो।
व्यवसायीको दाबीअनुसार बुकिङ भएको सवारी साधनलाई मेला सञ्चालन भएको कुल मिनेटमा भाग गर्दा प्रतिमिनेट २.२२ वटा सवारी बुकिङ भएको देखिन्छ। यस्ताे तथ्यांक वास्तविक भए यस पटकको मेलाले अटाे व्यवसायीलाई व्यापार विस्तारको ठूलो अवसर प्रदान गरेको देखिन्छ।
यद्यपि यस्तो तथ्यांकलाई व्यावहारिक पाटो केलाउँदा वास्तविक मान्य आधारहीन देखिन्छ। १६औं नाडा अटो मेलामा ८२ हजार ४ सय ७० जनाले अवलोकन गरेको थिए। मेला स्थल जाने करिब ९० प्रतिशत मानिस अवलोकन प्रयोजनमा मात्रै मेला पुगेका हुन्छन्। साथै, धेरै व्यक्ति दोहो¥याएर पनि गएका थिए।
यस्तो छ ६ दिनमा बुकिङ भएको गाडी संख्या
६ दिनसम्म चलेको नाडा अटो शोमा एमएडब्लु वृद्धिले प्रदर्शनीमा राखेको नामी ७०० बढी, डिपल २०० बढी र सेरेसको पनि २०० बढी गाडी बुकिङ भएको कम्पनीले जनाएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७१२ वटा गाडी बुकिङ भएको जानकारी दिएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टले प्रदर्शनीमा राखेको हुन्डाईको १५० युनिट गाडी बुकिङ भएको छ भने सुजुकिको १८४ युनिट गाडी बुकिङ भएको जानकारी दिएको छ। पारामाउन्ट मोटर्सले प्रदर्शनी गरेको एमजी ३०० युनिट बुकिङ भएको छ। सिप्रदी ट्रेडिङले प्रदर्शनीमा राखेको टाटा पन्च ईभी ४७५ युनिट र टियागो ईभी १६९ युनिट बुकिङ भएको जानकारी दिएको छ। नाडा अटो शोको ६ दिनको अवधिमा टाटाको मात्र ६४४ युनिट गाडी बुकिङ भएको तथ्थांक कम्पनीले दिएको छ।
सारडा ग्रुपअन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल ल्याएको जिकर एक्स ३० भन्दा बढी र सारडा ग्रुप अन्तर्गतको एसपीजी मोटर्सले प्रदर्शनीमा राखेको ओमोडा तथा जेको जे सिक्स ३५० भन्दा बढी बुकिङ भएको जनाएको छ।
सांग्रिला मोटर्सअन्तर्गतको लिपमोटर सी–१० १७६ युनिट र सिट्रोन ४५ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ। जी मोटर्स प्रालिले प्रदर्शनीमा राखेको स्काइवेल १२६ युनिट बुकिङ भएको कम्पनीले बताएको छ। एलआरआरले नेपाल भित्र्याएको बीएडब्लूको ब्रम्बी १२७ युनिट बुकिड भएको कम्पनीकाे भनाइ छ।
सिजी ग्रुपले प्रदर्शनीमा राखेका नेटा ४० युनिट, रिडारा २० युनिट,एक्सपेङ ९ युनिट, अवतार १० युनिट, आयोन १६ युनिट किङलङ १५ युनिट र केवाइसी २५ युनिट बुकिङ भएका छन्।
त्यस्तै, शशिला मोटर्सले प्रदर्शनीमा राखेको हाइगर ६ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ। अन्य केही ब्रान्डले भने बुकिङ संख्या खुलाएका छैनन्। यो तथ्यांक चारपांग्रे सवारीसाधनको मात्र हो।