पोखरा । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) गण्डकीको ३१औं वार्षिक साधारणसभा तथा १८औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा कृष्णप्रसाद आचार्यलाई अध्यक्षमा चयन गरेको छ।
आचार्यको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा तीर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण संग्रौला, सहसचिवमा भूपेन्द्रकुमार लामा, र कोषाध्यक्षमा दीपकप्रसाद सापकोटा चयन भएका छन्। कार्यसमिति सदस्यमा प्रकाश पौडेल, माधवप्रसाद खनाल, रेणुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, भूपेन्द्र गौतम, श्रीकृष्ण तिमिल्सिना, र अजयराज अधिकारी छन्।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ग्रामीण सडकहरूको अवैज्ञानिक विस्तारले पुराना पदमार्गहरू लोप हुँदै गइरहेको बताए। उनले वैकल्पिक मार्गको विकासले पर्यटनलाई नयाँ गति दिन व्यवस्थित पदमार्गको आवश्यकता औंल्याए। प्रमुख भट्टले पदयात्रा मार्गहरूको प्रवर्द्धनमार्फत् ग्रामीण पर्यटनलाई व्यवसायिक बनाउँदै समुदायको समृद्धिमा योगदान पुर्याउन टान गण्डकीको भूमिकालाई थप सशक्त बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।
नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले पर्यटन क्षेत्रको विकासका लागि टान गण्डकीले नवीन योजनाहरू अघि सार्ने र पदयात्रा मार्गहरूको विस्तार तथा पुनर्उत्थानलाई प्राथमिकतामा राख्ने बताए। उनले स्थानीय समुदायको सहभागिता र सहयोगले गण्डकी प्रदेशको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
पर्यटकीय राजधानी पोखरामा टानको नयाँ नेतृत्वको सक्रियताले गण्डकी प्रदेशको पर्यटन विकासमा नयाँ ऊर्जा थपिने विश्वास गरिएको छ।