बाह्य अर्थतन्त्रका सूचक सुदृढ देखिए पनि आन्तरिक आर्थिक गतिविधि शिथिल प्रायः छ। निजी क्षेत्रबाट अर्थतन्त्र सुधारका लागि विशेष पहल हुनुपर्ने माग भइरहेका बेला नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ११ देखी १६ गतेसम्म गाडीको मेला (नाडा अटो शो २०२४) सम्पन्न भएको छ। कठिन बेलामा भएको गाडी व्यवसायीको कुम्भ मेलामा देखिएको गाडी बुकिङ उत्साहले अर्थतन्त्र सुदृढ हुने बाटोमा रहेको संकेत गर्दछ।
गत वर्ष सम्पन्न नाडा अटो शो २०२३ मा ७४ हजार अवलोकनकर्ता रहेकोमा यसपटक ८२ हजार ५ सयले प्रदर्शनी हेरेका थिए। त्यस्तै गत वर्ष अटो शोका अवसरमा २ हजार गाडी बुकिङ भएकोमा यस पटक १५ अर्ब रुपैयाँ लागतको ४ हजार हाराहारी नयाँ सवारीसाधन खरिद गर्न इच्छा जाहेर गरेको व्यवसायीले उपलब्ध गराएको बुकिङ विवरणले देखाउँछ। अटो शोमा न्यूनतम १७ लाखदेखि डेढ करोडमाथिका ‘लक्जरियस’ सवारीसाधन राखिएको र सस्तादेखि महँगा गाडी बुकिङ भएको जनाइएको छ। प्रदर्शनीका क्रममा ल्याइएको एक करोड ६८ लाख मूल्यका २ वटा एमजी साइबरस्टर तत्कालै विक्री भएको थियो।
खासगरि असार १७ मा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सूचना बाहिरिएको र ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएसँगै अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा रौनक छाएको छ। अस्थिर राजनीतिले गिजोलिएको अर्थतन्त्र सुदृढ बनाउन अपेक्षाकृत काम नभइरहेका बेला अटो मेलामा मिलेको व्यापार संकेतले सकारात्मक तरंग ल्याएको छ। सेयर बजारमा देखिएको सकारात्मक वृद्धि र राजधानीको भृकुटीमण्डपमा सञ्चालित ६ दिने अटो मेलाको दृश्यले अर्थतन्त्र सकारात्मक बाटोमा लागेको अनुमान गर्न सकिन्छ।
नाडा अटो मेलाले नेपाली बजारमा विद्युतीय गाडी (ईभी)लाई ग्राहकको रोजाइमा पारेको देखिएको छ। आयातित अर्थतन्त्रमा निर्भर मुलुकमा बिजुलीबाट चल्ने गाडीको बजार फस्टाउँदा पेट्रोल/डिजेलमा जाने अर्बौं रुपैयाँ बचत हुनेछ भने मुलुकमै उत्पादित बिजुलीले बजार पाउनेछ।
सेयर बजार र अटो मेलामा प्रतिविम्बित चहलपहलले मुलुकको अर्थतन्त्रले लय समाउन खोजेको अनुमान गर्न सकिन्छ। आन्तरिक अर्थतन्त्र सुस्त रहेका बेला भएको अटो प्रदर्शनीबाट व्यवसायी खुसी र सन्तुष्ट भएको प्रतिक्रिया दिनु आफैँमा सकारात्मक छ। अटो मेलाको रौनकले अर्थतन्त्र सुध्रिन थालेको मात्रै संकेत गर्दैन, आउँदै गरेका दसैं, तिहारजस्ता चाडपर्वमा व्यापार विस्तार हुने छनक मिलेको छ। गत वर्षभन्दा दोब्बरले नयाँ सवारीसाधन किन्ने प्रतिबद्धता जाहेर हुनुले मानिसहरूको आय स्रोत बढिरहेको महसुस गराउँछ। समग्रमा नागरिकको क्रयशक्ति बढ्दा आर्थिक गतिविधि थप चलायमान मात्रै हुँदैन व्यापार÷व्यवसाय विस्तार भई सरकारको आम्दानी (राजस्व) पनि वृद्धि हुन्छ।
सेयर बजार पूर्णतः पारदर्शी क्षेत्र हो भने अटोमोबाइल पनि पारदर्शी क्षेत्रभित्रै पर्छ। सेयर बजारले लगानीकर्तामा आत्मविश्वास जगाएर सहज ढंगले पुँजी उपलब्ध गराउँछ भने अटोमोबाइल क्षेत्रले विगतमा मात्र होइन वर्तमानमा पनि राजस्वमा ठूलो योगदान दिँदै आएको छ।
नाडा अटो मेलाले नेपाली बजारमा विद्युतीय गाडी (ईभी)लाई ग्राहकको रोजाइमा पारेको देखिएको छ। आयातित अर्थतन्त्रमा निर्भर मुलुकमा बिजुलीबाट चल्ने गाडीको बजार फस्टाउँदा पेट्रोल/डिजेलमा जाने अर्बौं रुपैयाँ बचत हुनेछ भने मुलुकमै उत्पादित बिजुलीले बजार पाउनेछ। यसले थोरै भए पनि आयात कटौती हुने र आन्तरिक उत्पादनले प्रश्रय पाउने छ।
निश्चय पनि मुलुकमा पछिल्लो समय पर्यटक आगमन बढ्दो छ। त्यस्तै वैदेशिक रोजगारीमा जाने नेपालीले पठाउने विप्रेषण आप्रवाह (रेमिट्यान्स) पनि बढ्दो छ। सानो आकारको निर्यात भए पनि खासै सुधार हुन भने सकेको छैन। यद्यपि आयात पनि खुम्चिँदा त्यसले समग्र अर्थतन्त्रका अवयवहरूलाई कमजोर बनाउन मद्दत गरेको हो कि भन्ने आभास दिन्छ। तर, आन्तरिक उत्पादनले बजार विस्तार गरी आयातित बस्तुको खपत घट्दै जाँदा आर्थिक वृद्धिमा पार्ने सकारात्मक प्रभावले अर्थतन्त्रको मजबुतिमा सहयोग गर्दछ। अटो मोबाइल क्षेत्रमा १ खर्व रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ।
सेयर बजार तथा नाडा अटो शोले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलिरहेका बेला घट्दो बैंक ब्याजदर र अधिक तरलताले थप सहयोग गरिरहेको छ। यसरी अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागिरहेका बेला निजी क्षेत्रलाई थप प्रोत्साहित गरेमा आर्थिक गतिविधि बढाउन मद्दत मिल्नेछ, जसका लागि सरकारी सत्प्रयास आवश्यक छ।