काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ। बैंकले बालबालिकामा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न एप सार्वजनिक गरेको हो।
बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफैँ डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एपमार्फत तोकिएको उमेर समूहका बालबालिकाले बचत गर्ने बानीको विकास गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन्।
यो एपमार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्न सक्ने हुनाले यसले बालबालिकामा आर्थिक जिम्मेवारीसमेत विकास हुनेछ। साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाको लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ।
यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकामा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण रहेको छ।
ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताका लागि डिजाइन गरिएको प्लेटफर्म हो।
यो एप बालबालिकाले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ।
ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधा उपलब्ध छन्।
यो एप डाउनलोड गरेर पहिलो वर्षको लागि नि:शुल्क रुपमा प्रयोग गर्न सकिन्छ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र छन्।