काठमाडौं । पुँजी बजारमा लघुबिमा कम्पनीमार्फत डेढ अर्ब रुपैयाँ बढीको पुँजी भित्रिने भएको छ। हाल सञ्चालनमा रहेका ७ लघुबिमा कम्पनी सार्वजनिक निष्कासन (आईपीओ)को तयारीमा जुटेसँगै १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुँजी बजारमा भित्रिने भएको हो।
बिमा प्राधिकरणले दुई वर्षअघि ३ लघु जीवन बिमा र ४ निर्जीवन लघु बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो। प्राधिकरणले ७५ करोड रुपैयाँ चुक्ता पुँजी तोकेर लाइसेन्स पाएका यी कम्पनीले ३० प्रतिशत सर्वसाधारणमा सेयर जारी गर्न लागेका हुन्।
‘लघुबिमा स्थापना तथा दर्ता निर्देशिका, २०७९’ अनुसार लघुबिमा व्यवसाय गर्ने कम्पनी सञ्चालनमा आएको एक आर्थिक वर्षपछि न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्छ। बिमा कम्पनीले सार्वजनिक निष्कासन प्रकृया सुरु गर्नुअघि प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति लिनुपर्ने हुन्छ। स्वीकृति पाएपछि मात्रै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवश्यक प्रकृया सुरु गर्न पाउँछन्।
उक्त निर्देशनअनुसार ७ वटै लघुबिमा कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न आवेदन दिएको नेपाल बिमा प्राधिकरणका उप-निर्देशक शाम्भराज लामिछानेले बताए। ‘स्वीकृतिका लागि ७ वटै लघुबिमा कम्पनीले आवेदन दिएका थिए,’ उपनिर्देशक लामिछानेले क्यापिटल नेपालसँग भने, ‘जसमा हामीले कारोबार सुरु भएको एक आर्थिक वर्ष पूरा गरेका ४ वटा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइसकेका छौं।’
प्रधिकरणबाट २ वटा लघु जीवन बिमा र २ वटा निर्जीवन लघु बिमा कम्पनीले आईपीओ निष्कासनका लागि सैद्धान्तिक स्वीकृति पाएका हुन्। क्रेष्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ इन्सयोरेन्सले २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वधारणमा जारी गर्ने सैद्धान्तिक स्वीकृति पाएको उनले जानकारी दिए।
लिबर्टी माइक्रो लाइफ, स्टार माइक्रो इन्स्योरेन्स र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले पनि आईपीओ निष्कासनका लागि प्राधिकरणमा सैद्धान्तिक स्वीकृति माग गर्दै आवेदन पेस गरिसकेका छन्। तर, यी कम्पनी कारोबारमा आएको एक वर्ष नपुगेकाे हुँदा हाल स्वीकृति नदिइएकाे लामिछानेले जानकारी दिए। ‘कारोबार सुरू भएको एक वर्ष पूरा भएपछि यी कम्पनीले पनि स्वीकृति पाउँछन्। यी कम्पनीले धेरै समय पर्खिनु पर्दैन,’ उनले भने।
प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति पाएका ४ कम्पनीमध्ये गार्डियन माइक्रो भने सेबोनमा प्रकृया सुरु गरिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी बताउँछन्।
‘आईपीओ जारी गर्न प्राधिकरणबाट स्वीकृति लिएर साउन २३ गते सेबोनमा दर्ता गरिसकेका छौं,’ कम्पनीका सीईओ भण्डारीले क्यापिटल नेपालसँग भने, ‘सबै लघुबिमा कम्पनी आईपीओ जारी गर्ने प्रकृयामा छौं तर सेबोनमा अध्यक्ष नहुँदा प्रकृया नै अघि बढ्न सकेको छैन्। हामीले दर्ता गरेको आईपीओ निवेदनमा पनि हालसम्म कुनै प्रतिकृया सेबोनबाट आएको छैन।’
गार्डियन माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न सेबोनमा निवेदन दिएको हो। लघुबिमा कम्पनी सर्वसाधारणमा जाने प्रकृया सुरु गर्ने समय धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रकृया लम्बिँदा स्वीकृति पाउन समस्या भएको उनको भनाइ छ।
हाल बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधित्वमा रहेका सञ्चालक सह–सचिव महेश बराल अध्यक्षमा छन्। बरालले अध्यक्षको कार्यभार सम्हाले पनि उनले हालसम्म कुनै सार्वजनिक निष्कासनको स्वीकृति दिएका छैनन्।
लघुबिमा कम्पनीको वित्तीय अवस्था