काठमाडौं । तारा एयरले प्रतिकूल मौसमका कारण बन्द गरेको पोखरा-जोमसोमको नियमित उडान भदौ १८ देखि नियमित गर्ने भएको छ। पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्न थालेकाले तारा एयरले नियमित उडान गर्न लागेको हो।
जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसौनी गर्ने छ। हालका लागि मौसम अनुकूल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एअरपोर्टबाटै हुनेछ।
मुस्ताङस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाइमा छ। यस एअरपोर्टको लम्बाई ७३९ मिटर छ।
यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप-लुक्ला-रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ। सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन्।
यो सिजनका लागि तारा एयरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्ने तालिका छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका छन्। रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसौनी गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका छ।
ताराले रामेछापदेखि लुक्लाका साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायत दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ।