काठमाडौं। सेयर बजारमा १२७.३२ अंकको वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंक अर्थात् ४.७२ प्रतिशतले बढेर २८२३.२५ बिन्दुमा बन्द भएको छ।
अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ५३.६३ अंकले घटेर २६९५.९३ बिन्दुमा बन्द भएको थियो। सोमबार नेप्सेमा देखिएको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ।
आज नेप्सेमा कुल १२ अर्ब ९१ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य घटेको छ।
सोमबार नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, र सुपर माई हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
सोमबार १३ समुहकै सेयर मूल्य बढ्दा फाइनान्स समूहमा ७.९४ प्रतिशतको वृद्धि आएको छ। बैंकिङ समूह ४.७३ प्रतिशत, विकास बैंक समूह ४.९९ प्रतिशत, होटल तथा पर्यटन समूह ४.९२ प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य ५.३६ प्रतिशतले बढेको छ।
लगानी समूहको सेयर मूल्य ५.४५ प्रतिशत, जीवन बिमा समूहको ४.६९ प्रतिशत, उत्पादन समूह ३.३३ प्रतिशत, लघुवित्त समूह ३.३३ प्रतिशत र निर्जीवन समूह ४.८१ प्रतिशतले बढेको छ।