काठमाडौं । ५ वर्षदेखि स्तरोन्नति थालिएको बुटवल–नारायणगढ सडक तीन–तीनपटक म्याद थप्दासमेत निर्माण पूरा नभएपछि सरकारले चिनियाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको छ।
सन् २०१९ बाट निर्माण सुरु गरिएको सडकको हालसम्म ५४ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। बुटवल–नारायणगढ सडक खण्ड समयमै निर्माण नहुँदा यात्रु तथा सवारीसाधन दुवैले सास्ती पाइरहेका बेला सरकारले अब तोकिएको म्यादभित्र सम्पन्न नभए चिनियाँ ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो।
सडक अनुगमनमा निस्किएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको काम थपिएको समय पनि पूरा नभए निर्माण कम्पनीसँग ठेक्का तोडिने आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन्।
उनले सडक दुरवस्थाका कारण नागरिकले दुःख पाएको भन्दै थपिएको एक वर्षको म्यादभित्र काम सक्न निर्देशन दिए। काम नसकिए ठेक्का तोडिने उनको चेतावनी थियो।
‘समयमै काम सम्पन्न गर्न अधिकतम सहजीकरण गर्छौं। काम सम्पन्न नभए ठेक्का तोड्न बाध्य हुनेछौं। यो कुरा सडक निर्माण जिम्मा लिएको कम्पनीसमक्ष पुर्याइसक्यौं’, मन्त्री दाहालले भने।
मुलुककै लाइफलाइन सडक खण्ड निर्माणमा ढिलासुस्ती हुँदा जनताले सास्ती बेहोर्नुपरेकाले बर्खालगत्तै कामको गति बढाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको उनको भनाइ छ। मन्त्री दाहालले निर्माण कम्पनीका उच्च अधिकारीसँग पनि सरकार निरन्तर सम्पर्कमा रहेको बताए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले ठेकेदार कम्पनीलाई अब भने कडाइ गरिने जानकारी दिए। ठेकेदारले बर्खा सकिएपछि लगातार काम गरे १५ महिनाभित्र पोजेक्ट सक्न कुनै समस्या नरहेको उनको भनाइ छ।