काठमाडौं । विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको नेपाली संस्करण मिस युनिभर्स नेपालको यो वर्षको ताज सार्वजनिक गरिएको छ। ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको उक्त ताज मिस युनिभर्स २०२३ सेनिस पलासियोसले सार्वजनिक गरेकी हुन्।
२४५ ग्राम ह्वाइट गोल्ड र बहुमूल्य हिरा प्रयोग गरेर बनाइएको क्राउन सार्वजनिक गरिएको छ। क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन्। ताजको डिजाइन अस्मी ज्वेलर्स ग्लोबलले गरेको हो।
क्राउन सार्वजनिक गर्दै मिस युनिभर्स सेनिसले भनिन्, ‘यो ताज केवल ताज मात्र नभएर कडा परिश्रमको प्रतिफल हो र विश्व स्टेजमा नेपालको प्रतिनिधित्व गर्ने सपना र जिम्मेवारी पनि हो।’
ताजको डिजाइन रातको अकासमा देखिने तारामण्डलको सौन्दर्यबाट प्रेरित छ। प्रिमियम ह्वाइट गोल्डबाट बनाइएको यो ताजमा बहुमूल्य हीरा र ताराको चमक झल्काउने अन्य रत्नले सजिएको छ। डिजाइनमा मार्गदर्शन र प्रतिभाको प्रतीकको रुपमा तारामण्डल राखिएको डिजाइनर अस्मी ज्वेलर्स ग्लोबलले जनाएको छ।
मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले भदौ २२ मा हायात होटलमा हुँदै छ। उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले जानकारी दिएको छ।
ताज सार्वजनिक गर्नुअघि २२ प्रतियोगीको प्रिलिमिनरी राउन्ड सम्पन्न भएको थियो, जसमा इशानी श्रेष्ठ, सोफिया भुजेल, सवि पुरी, अलेक्ज्यान्डर गोन्जालेज र विदुषी राणाले जजको भूमिका वहन गरेका थिए।