काठमाडौं। केहि वर्षदेखि सिथिल रहदै आएको अर्थतन्त्र पूर्ण रुपमा तंग्रिएको झल्को नाडा अटो शो २०८१ ले दिएको छ। । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको ६ दिने अटो शोमा करिब ३ हजार ८ सय भन्दा बढी चारपाङ्ग्रे गाडी बुकिङ भएको छ। नाडा अध्यक्ष करण चौधरीले ६ दिनको बीचमा करिब १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको जानकारी दिए।
अर्थतन्त्रमा छाएको मन्दीको कारण केहि समयदेखि बजारनै चलायमान नभइरहेको अवस्थामा नाडा शोमा भएको गाडी बुकिङ र कारोबारले बजारको रौनकतानै फेरिदिएको अध्यक्ष चौधरीको दाबी छ। ‘अटो शोले सुस्ताएको बजार चलायमान बनाइदिएको छ,’ अध्यक्ष चौधरीले भने, ‘अटो व्यवसायीको दसैं भित्रियो, अव राज्यले पनि अटो क्षेत्रमा हेर्ने दृष्टिकोण परिवर्तन भए मुलुकले राम्रो रुपमा गति लिन्छ।’ अटो शोमा ८२ हजार ४७० जनाले अवलोकन गरेको नाडाले जानकारी दिएको छ।
कसको बुकिङ कति?
नाडा अटो शो– २०२४ मा एमएडब्लु वृद्धिले प्रदर्शनीमा राखेका नामी ह्याचव्याकको ७०० बढी, डिपलको २०० बढी र सेरेसको २०० पनि गाडी बुकिङ भएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ७१२ वटा गाडी बुकिङ भएको जानकारी दिएको छ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको १५० गाडी बुकिङ हुँदा सुजुकिको १८४ र पारामाउन्ट मोटर्सको एमजी ३०० युनिट बुकिङ भएको छ। यस पटक टाटा गाडीको ६४४ युनिट बुकिङ भएको छ। टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार, टाटा पन्च ईभी ४७५ र टियागो ईभी १६९ युनिट बुकिङ भएको हो।
सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाल ल्याएको जिकर एक्स ३० बढी बुकिङ भएको कम्पनीले जनाएको छ। सारडा ग्रुप अन्तर्गतको एसपीजी मोटर्सले प्रदर्शनीमा राखेको ओमोडा तथा जेको जे सिक्स ३५० भन्दा बढी बुकिङ भएको छ।
सांग्रीला मोटर्सअन्तर्गतको लिपमोटर सी–१० को १७६ युनिट र सिट्रोनको ४५ युनिट बुकिङ भएको कम्पनीले जनाएको छ। जी मोटर्स प्रालिले प्रदर्शनीमा राखेको स्काइवेल १२६ युनिट बुकिङ भएको छ।
एलआरआरले भित्र्याएको बीएडब्लूको बु्रमी १२७ बुकिड भएको कम्पनीले जनाएको छ। सिजी ग्रुपले प्रदर्शनीमा राखेका नेटा ४०, रिडारा २०, एक्पेङ ९, आयोन १६, किङलङ १५, र केवाइसी २५ युनिट बुकिङ भएको छ।
शशिला मोटर्सले प्रदर्शनीमा राखेको हाइगर ६ युनिट बुकिङ हुँदा दुई पांग्रे सवारीतर्फ वैद्य एनर्जीले प्रदर्शनमा राखेको एथरको १८७ युनिट बुकिङ भएको छ। त्यस्तै ट्राइम्फ २००, रोयल इन्फिल्ड ७०, हिरो ६०, बजाज ५०, सिएफमोटो ५१, एनआइयू ४०, जिहो ३६ र सुजुकी १० वटा बुकिङ भएका छन्।