काठमाडौं । ठाउँ अभावले नाडा अटो शोको समय थप नहुने भएको छ। ६ दिनको प्रदर्शनी लम्ब्याउन माग भए पनि उक्त स्थानमा अन्य कार्यक्रम हुने भएकाले म्याद थप नभएको हो। भदौ ११ देखि १६ गतेसम्मको पूर्वनिर्धारित प्रदर्शनी भए पनि केही दिन अटो शो लम्बिने आकलन गरिएको थियो।
नाडा अटो शो सञ्चालन भइरहेको भृकुटीमण्डपमा सोमबारबाट नै सांस्कृतिक तथा जुत्ता मेला तय भएको छ। सोही कारण अटो शो लम्ब्याउन सम्भव नभएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका संयोजक अनुपकुमार बरालले जानकारी दिए।
‘नाडा अटो शोको म्याद थप्नलाई व्यापक दबाब भए पनि ठाउँ अभावले अटो शोको म्याद थप गर्न सम्भव भएन,’ संयोजक बरालले भने, ‘भोलीदेखि नै जुत्ता मेला तथा सांस्कृतिक कार्यक्रम भएकाले आज साढे तीन बजे समापन हुँदैछ।’
गत मंगलबारबाट काठमाडौंको भृकुटीमन्डपमा चलिरहेको नाडा अटो शो २०२४ को आज अन्तिम दिन हो। ६ दिनसम्मको लागि आयोजना भएको मेलामा ५औं दिनसम्म करिब ७५ हजारले अवलोकन गरेका छन्।
यसपटकको नाडा अटो शोमा चिनियाँ ईभी गाडीको दबदबा रहेको छ। नामी, डिपल, बीवाइडी, स्काइवेललगायत चिनियाँ ब्रान्डमा ग्राहकको आकर्षण देखिएको छ भने भारतीय ब्रान्ड टाटा पन्च ईभीमा ग्राहकको आकर्षण देखिएको छ। दुई पांग्रे सवारीसाधनमा भने इन्धन सवारीसाधनतर्फ ग्राहकको आकर्षण देखिएको छ।
यस वर्षको नाडा अटो शोमा २३ चारपांग्रे, १९ दुईपांग्रे, १३ हल्का व्यावसायीक सवारीसाधनका ब्राण्डले प्रदर्शनी गरेका छन्। नाडा शोमा ३३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन र ११ वित्तीय संस्थाले सहभागिता जनाएका छन्। शोमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका हुन्।