काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराको बादल तथा तीब्बततर्फबाट बादल नेपाल आएसँगै आज देशभर वर्षा जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ।
बादल पूर्वबाट पश्चिमतिर सरिरहेकाले त्यसको असर देशभर देखिएको महाशाखाको भनाइ छ। मनसुन सक्रिय हुँदा देशका केही स्थानमा भारी र अति भारी वर्षा भइरहेको छ।
वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरोको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टामा चितवनको कल्याणपुरमा सबैभन्दा धेरै १५३ मिलिमिटर वर्षा मापन भएको छ। नारायणी फिल्ड अफिसमा १२३, शक्तिखोरमा १०७ र देवघाटमा ९३ मिलिमिटर वर्षा मापन भएको छ।
भारी वर्षाका कारण माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सूचना जारी गर्दै नारायणगढ-मुग्लिङ सडकखण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
आज दिनभरी पानी पर्ने, रोकिने र फेरि पानी पर्ने क्रम जारी रहने महाशाखाको भनाइ छ। आज राति पनि वर्षा हुने र सोमबारबाट मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ।