काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सधै भरी निजी क्षेत्रले गुनासो गरेर मात्र नहुने बताएका छन्। अर्थतन्त्रका बाह्य क्षेत्र सवल रहेको अवस्थामा निजी क्षेत्र गुनासा छोडेर योगदानमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
'सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको छ र सुन्दै आएको छ। भोली पनि सुन्छ। त्यसैले बहानाबाजी गरेर निजी क्षेत्र गुनासोमा मात्र केन्द्रित हुनु हुँदैन,' अर्थमन्त्री पौडेलले नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने, 'बाह्य क्षेत्र सवल भए पनि आन्तरिक रुपमा माग नबढेकाले अर्थतन्त्रमा केही समस्या जस्तो देखिएको छ। लामो अस्थिरताका कारण यो समस्या आए पनि विस्तारै सुधार हुँदै गएको छ।'
वर्तमान सरकार स्थायीत्वका लागि गठन भएकाले अब सरकार र मन्त्रीहरू फेरिरहने परिपाटी बन्द हुने पौडेलको दाबी छ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रका नयाँ सरकार गठनपछि अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न सरकार तयार रहेको बताए।
'सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको छ। सोहीकारण पूँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको छ। सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको छ। थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार छ,' उनले भने।
आर्थिक र वित्तीय सूचक सकारात्मक बन्दै गए पनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न नसकिएको उनले बताए। 'बजारमा माग बढ्न नसकेको गुनासो छ। अर्थतन्त्र दबाबमै छ', पौडेलले भन्ने, 'केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै अहिलेको सहज अवस्थामा आएको हो।'
मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने उनले बताए। एक वर्षमा तीन जना अर्थमन्त्री फेरिने गरेको सन्दर्भमा बोल्दै उनले यसको समाधान गर्नै वर्तमान सरकार आएको बताए। उनले भने, 'निजी क्षेत्रले पनि अब गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्छ।'
यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताए। 'बाह्य क्षेत्र सहज हुँदै गएको छ। मुद्रास्फीति घटेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ। अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ', गभर्नर अधिकारीले भने, 'चालू आर्थिक वर्षबाट नयाँ ढंगले अर्थतन्त्र चलायमान हुन्छ। हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने छौं।'
सेजनलाई २६औं वार्षिक साधारण सभाको शुभकामना दिँदै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताए। 'बाह्यक्षेत्र सन्तुलनमा छ। बजारमा तरलता पर्याप्त छ। ब्याजदर पनि घटेको छ। तर, अहिले आयात र निर्यात घेटेको छ। यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो', अध्यक्ष अग्रवालले भने। अर्थतन्त्र सुधारका लागि उत्पादन क्षेत्रमा सुधार गरी आन्तरिक माग बढ्नुपर्ने, सरकारको वार्षिक बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्ने, लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि पुँजीगत खर्च बढाउनुपर्ने, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी चाँडो हुनुपर्ने, दिगो पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अग्रवालको भनाइ छ।
सेजन अध्यक्ष सुजन ओलीले अध्यक्ष भएको एक वर्षमा तीन अर्थएमन्त्रीसँग सहकार्य गरेको भन्दै यसले देशको राजनीतिक अस्थिरता देखाएको बताए। 'गत भदौमा हाम्रो कार्यकाल सुरु भएपछि तीन जना अर्थमन्त्रीसँग सहकार्य गर्न मौका मिल्यो। यसले हाम्रो राजनीति अस्थिरता देखाएको छ। राजनीति स्थिर भएमात्रै अर्थतन्त्रमा सुधार आउँछ', उनले भने, 'अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक पत्रकारहरुको संस्था भएकाले पनि यसमा हाम्रो चासो र चिन्ता रहेको छ। यसमा अन्य अर्थ भनदा पनि राजनीतिक अस्थिरता प्रतिविम्बित भएको छ।'
यस्तै सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले सेजन जुन सोचले सुरु गरेको सोही अनुसार अघि बढेकोमा खुसी व्यक्त गरे। 'हामीले सेजन सुरु गर्दा जुन उद्देश्यले गरेका थियौं सोही अनुसार अघि बढेको छ। हालका अध्यक्षसम्म आइपुग्दा संस्था झन बलियो भएर गएको छ', उनले भने, 'कतिपय अवस्थामा यसमा गलत तत्व हावी हुँदै गएको भन्ने आरोप लाग्ने गरेकोमा सेजन चनाखो हुनुपर्छ।' सबैमा राजनीतिक आस्था भए पनि संस्था र समाचारमा त्यो देखाउन नहुने प्रधानले बताए।