काठमाडौं । सात हप्ता लगातार उकालो लागेर ९६३.७२ अंकले बढेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पछिल्लो दुई सातामा २५१.२४ अंकले घटेको छ। असार १६ मा २०३७.०९ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो। तर, साउन ३१ पछि ओरालो लागेको बजार ७ कारोबार दिनमा २५१.२४ अंकले घट्दै भदौ १३ (बिहीबार) २७४९.५७ बिन्दुमा खुम्चिएको हो।
सात हप्ता लगाएर ४७.३० प्रतिशतले बढेको बजार पछिल्लो दुई सातामा ८.३७ प्रतिशतले घटेको छ। विगत दुई साताको गिरावटलाई केहीले ‘बुल’ अघिको ’करेक्सन‘ भनेका छन् भने केहीले ‘बियरिस ट्रेन्ड’को व्याख्या गरिरहेका छन्। सामान्यतया माथिल्लो बिन्दुबाट २० प्रतिशत घटेमा ‘बियरिस ट्रेन्ड‘ पक्रेको मानिन्छ। प्रवृत्तिगत नेप्से ट्रेन्ड अझै घटेर २४०० बिन्दुतिर जाने बाटो समाएमा भने बियरिस टेन्ड लिएको भन्न सकिन्छ।
लगानीकर्ता पनि एक चरणको घटाइ देखिएकाले अब बजार माथि लाग्ने तर्क गर्छन्। खासगरि नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको लगानीकर्ता सस्तो मूल्यमा सेयर फाल्न तयार नरहेको संकेत हरेक दिनको ‘इन्ट्रा डे’ कारोबारमा देखिएकाले बजारले सकारात्मक गति समाउने लगानीकर्ताको विश्वास छ। साउन ३१ गते हालसम्मकै उच्च अर्थात् २९ अर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएकोमा गत बिहीबार १२ अर्ब ६ करोडमा खुम्चिनुको मूल कारण लगानीकर्ताले सेयर बिक्री गर्दा सोचविचार गरिकन मुट्ठी कसेको देखिन्छ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेल बजारमा केही करेक्सन आएकाले अब बढ्ने सम्भावना बढी भएको बताउँछन्। ‘तीव्र गतिमा उकालो लागेको बजारमा अलिकति करेक्सन आएको छ। बजार नघटी एकोहोरो बढेको बढ्यै गर्दैन,’ अध्यक्ष फुल्लेल भन्छन्, ‘नेप्से घटबढ हुनु स्वाभाविक हो। अब भने बजार उकालो यात्रामा निस्कन्छ होला।’
सेयर बजारका जानकार तथा प्राइम चार्टर्ड एकेडेमीका अध्यक्ष नवराज बुर्लाकोटी अहिलेको सेयर बजारको अवस्था, विभिन्न वित्तीय सूचकांक र समग्र कम्पनीको प्रदर्शनको औसतलाई हेर्दा सेयर बजार बढ्दो क्रममा रहेको मान्न सकिने बताउँछन्।
कांग्रेस एमालेको नयाँ सरकार बन्ने चर्चासँगै बढ्न थालेको सेयर बजारलाई चालू मौद्रिक नीति र घट्दो ब्याजदरले सहयोगी भूमिका खेलेपछि नेप्से उच्च बिन्दु पछ्याउन खोजिरहेको थियो। तर, बजार बढ्दा धेरै बलियो आधार नभेट्टाई अघि बढेको र सरकारी तवरबाट सेयर बजार सुधारका लागि कुनै नीतिगत पहल नहुँदा जुनसुकै बेला समस्या आउने आंकलनमा एकथरि लगानीकर्ता छन्। यद्यपि पछिल्लो समय निक्षेप र कर्जा दुवैतर्फको ब्याजदर एकल बिन्दुमा झरेको र सेयर धितोको कर्जा लिने क्रम बढ्दो क्रममा रहले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने विश्वासमा लगानीकर्ता छन्।
सेयर बजारका जानकार तथा प्राइम चार्टर्ड एकेडेमीका अध्यक्ष नवराज बुर्लाकोटी अहिलेको सेयर बजारको अवस्था, विभिन्न वित्तीय सूचकांक र समग्र कम्पनीको प्रदर्शनको औसतलाई हेर्दा सेयर बजार बढ्दो क्रममा रहेको मान्न सकिने बताउँछन्। ‘लगातार बढेको बजारमा केही गिरावट देखिएको छ। तर, समग्र विषय हेर्दा हालसम्मको बजारको स्थितिलाई बढ्दो क्रम नै मान्न सकिन्छ,’ बुर्लाकोटी भन्छन्, ‘समग्र वातावरण सकारात्मक रहेकाले बजार केही मात्रामा तलमाथि भए पनि अब बढेर जाने देखिन्छ।’
बजार सूचक बढेर ३००० बिन्दुमा पुग्दा नेप्से घटाउने र बढाउनेबीचमा एक किसिमको प्रतिस्पर्धा नै चल्यो। बजार घटाएर सस्तोमा सेयर किन्ने र फेरि बढाएर महँगोमा सेयर बिक्री गर्ने खेल दिनहुँजस्तो कारोबारमा देखिएको छ। त्यसो त प्रदर्शनमा रहेको नाडा अटो शो, नजिकिँदो तिज, दसैं, तिहार तथा छठजस्ता महत्त्वपूर्ण पर्व नजिकिएकाले बजारबाट पैसा झक्ने क्रम सुरु भएकाले बजार अझ घट्न सक्ने आंकलन कतिपय लगानीकर्ताको छ।
सातौं सातासम्म लगातार बजार बढ्दा एकथरी लगानीकर्ता (ट्रेडर) नाफा बुक गर्ने बाटोमा लागेका कारण सूचकमा धक्का लागेको अनुमान गर्न सकिन्छ। विना अवरोध बजार अघि बढेकाले सामाजिक सञ्जालमा बजार घटाउन विभिन्न हत्कण्डा अपनाइएको देखिन्छ। त्यस्तै, विगतमै हतारमा सेयर विक्री गरेर बसेका लगानीकर्ता पनि घट्दो बजारको खोजीमा थिए र त्यसैअनुरुप आफ्ना धारणा समाजिक सञ्जालमा प्रवाहित गरिरहेका थिए। अर्कोतिर राजनीतिक दलका नेता तथा कार्यकर्ता संघीय संसदमै अमुक कम्पनी र कारोबारलाई लिएर व्यापक बहस चलाइरहेका थिए। यसरी चौतर्फी दबाबको असर सेयर बजारमा परेको र अझै केही समय देखिनसक्छ। यद्यपि निरन्तरको घटाई अब लामो समय जान सक्दैन किनभने बाह्य अर्थतन्त्रका अवयवमा भएको सुधारसँगै आन्तरिक अर्थतन्त्रका अवयवहरूमा पनि बिस्तारै प्रभाव देखिँदै जाने छ।
पहिलो चरणमा ब्याजदर सस्तो भएको छ। बैंकहरुसँग पर्याप्त तरलता (लगानीयोग्य रकम) छ। बजारमा बस्तुको माग हुनासाथ समग्र प्रणालीमा सकारात्मक असर देखिने भएकाले अबको एक–डेढ वर्षका सेयर बजारमा सकारात्मक प्रभाव पर्ने निश्चित छ। त्यसैले अहिले लगानीकर्तालाई लगानीको राम्रो अवसर उपलब्ध गराएको छ। तथापि एउटा स्मार्ट लगानीकर्ताले आफ्नो रणनीति र अध्ययनका आधारमा कारोबार गर्नु उचित हुन्छ।