काठमाडौं। गत वर्षको नाडा अटो शोमा जी मोटर्सले स्काईवेल गाडी आयातको जानकारी दिएको थियो। गाडी समयमै आइपुग्न नसकेपछि कम्पनीले स्टल मात्र राखेर भिडियो देखाउँदै जानकारी दिएको थियो। तर, यो वर्षको अटो शोमा स्काईवेलको स्टलमा सहभागीहरुको उत्साहजनक उपस्थिति र बुकिङ देखियो।
वर्षदिनमै नेपालमा स्काईवेलको परिदृश्य फेरिएको छ। गाडीहरुको सबैभन्दा ठूलो प्रदर्शनीमा गत वर्ष गाडी देखाउन नपाएर बजारमा आक्रमक रुपमा उपस्थिति देखाउन नपाएको स्काईवेलले यो वर्षदेखि आफूलाई घरेलु ईभी अटो बजारमा दरिलो प्रतिस्पर्धीको रुपमा उतारेको छ। गत वर्ष अटो शोमा टच एन्ड फिल गर्न नपाएका सहभागीहरुले यो वर्ष मज्जाले जानकारी लिएपछि गाडीको बुकिङ राम्रो भएको जी मोटर्सले जनाएको छ।
नाडा अटो शोबाट कम्पनीले पाँच दिनमा उनान्नसय बुकिङ लिएको छ। शनिबार उनान्नसय बुकिङको उपलक्ष्यमा कम्पनीले केक काटेर सेलिब्रेशन गरेको थियो।
जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले भने, “गत वर्ष समयमा नै गाडी आइपुगेको थिएन तर पनि हामीले भिडियो र ब्रोसरबाट पर्याप्त जानकारी दिएका थियौं।” नाडा अटो शोमा दिएको जानकारी र त्यसपछि गाडीको नेपालमा सार्वजनिक कार्यक्रमपछि यसको क्रेज बढ्दै गएको उनले बताए। "अटोपाखरीहरुले एकपटक हेरेर जानकारी लिएपछि धेरैले मनपराएको देखियो। हामी यो वर्ष देशका विभिन्न क्षेत्रमा सोरुम थप्दैछौं। सर्भिस सेन्टर र चार्जिङ सेन्टर पनि बढ्दै छ," उनले भने।
नेपाली बजारमा जी मोटर्सले स्काईवेल प्रिमियम लक्जरी ईभी ‘ईटी ५’ बिक्री गर्दै आइरहेको छ। ६२० किमि रेन्ज दिने उक्त गाडी ५ स्टार सेफ्टी रेटिङ रहेको कम्पनीको भनाइ छ। कम्पनीले इटी ५ सँगै नाडा अटो शोलाई लक्षित गर्दै आफ्नो बी ११ मोडलका २ गाडी पनि अटो शोमा राखेको छ। ५१ किलोवाट र ७१ किलोवाटको ब्याट्री भएका २ मोडलले ग्राहकहरुलाई थप आकर्षित गरेको कम्पनीले जनाएको छ। यी गाडीले क्रमशः ४१० र ५२० किमि रेन्ज दिन्छन्।
नाडा अटो शोका लागि ५१ किलोवाट ब्याट्री भएको गाडीको मूल्य ७५ लाख ९० हजार रहेको र ७१ किलोवाट-घण्टा ब्याट्री भएको गाडीको मूल्य ८५ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ। कम्पनीले इटी ५ लाई भने १ करोड ९ लाखमा बिक्री गर्दै आइरहेको छ।