काठमाडौं। लिपमोटर सी–१० र डिपल एस–०७ दुवै चिनियाँ विद्युतीय ब्रान्ड हुन्। यी दुवै प्रिमियम सेग्मेन्टका यसयूभी गाडी हुन्। दुवै ब्रान्ड यस वर्षको नाडा अटो शोमा राखिएका छन्।
लिपमोटर नाडा अटो शो २०२४ का लागि भित्र्याइएको नयाँ ब्रान्ड हो भने डिपल पहिलेदेखि नै नेपालमा बिक्री हुँदै आएको छ। लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स हो। डिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि हो।
लिपमोटर र डिपल दुवै ब्रान्डले जारी नाडा अटो शोका लागि विशेष अफर सार्वजनिक गरेका छन्। यी दुई मोडलका मूल्य र फिचर लगभग समान रहेका छन्। ग्राहकको सबैभन्दा पहिलो रोजाइ भनेको सवारीसाधनको मूल्य हो। त्यसपछि त्यसमा भएका फिचर हुन्। लिपमोटर सी–१० साइजमा निकै ठूलो छ। अहिले नेपाली बजारमा उपलब्ध दिपल एस–०७ भन्दा केही मिलिमिटर मात्रै ठूलो छ।
सांग्रिला मोटर्सले नाडा अटो शोमा सार्वजनिक गरेको लिपमोटर सी–१० को मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेको छ। यो मूल्य नाडा अटो शोका लागि मात्र हुने कम्पनीले जनाएको छ। नाडा अटो शोपछि यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ बनाउने योजना कम्पनीको छ।
त्यस्तै, डिपलका मोडल बिक्री गरिरहेको एमएडब्लु वृद्धिले नाडा अवधिका लागि ३ लाख रुपैयाँले मूल्य घटाएको छ। कम्पनीले डिपल एस ०७ को मूल्य ७४ लाख ९९ हजार कायम गरेको थियो। तर, कम्पनीले एस–०७ मा नाडा अवधिका लागि मूल्य घटाएर ७१ लाख ९९ हजार बनाएको छ।
ब्याट्री तथा मोटर
लिपमोटर सी–१० मा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। यो गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। यसको टप स्पिड १७० किलोमिटर प्रतिघन्टा रहेको छ।
डिपल एस ०७ मा लिथियम टर्नर ६६.८ किलोवाट आवरको एनएमसी ब्याट्री दिइएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यसको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको छ।
रेन्ज
लिपमोटर सी–१० मा भएको ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले प्रमाणित गरेको छ।
डिपल एस ०७ मा भएको ब्याट्रीले सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ। डिपलमा ८ वर्ष १ लाख ५० हजार किलोमिटर ब्याट्री तथा मोटर वारेन्टी दिएको छ।
ग्राउन्ड क्लियरेन्स
लिपमोटरमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ भने डिपल एस ०७ मा १७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ।
चार्जिङ समय
यी दुवै गाडी चार्ज गर्न समान समय लाग्छ। लिपमोटर सी–१० ३५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ भने डिपल एस ०७ पनि ३५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ।
साइज
लिपमोटर सी–१० को लम्बाई ४७३९ एमएम, चौडाई १९०० एमएम, र उचाई १६८० एमएम छ। यसको ह्वीलबेस २८२५ एमएम छ। डिपल एस–०७ को लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६२५ एमएम छ। यो एसयूभी २९०० एमएम लामो ह्वीलबेस छ।
अन्य फिचर
लिपमोटर सी–१० मा १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्क्रिन, वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम दिइएको छ।
सी १० मा एक्सटेरियरमा क्लोज अफ ग्रिल, एलइडी हेडलाइट, डे टाइम रनिङ लाइट, रुफ र्याक, पानारोमिक सनरुफ, पावर टेलगेट, रियर प्राइभेसी ग्लास, हिडन डोर ह्याण्डल दिइएको छ।
यसको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङजस्ता प्रिमियम फिचर छन्।
डिपल एस–०७ मा टुस्पोक स्टेरिङ ह्वील, १४ वटा सोनी स्पिकरसहितको १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, हेडअप डिस्प्ले, क्वालकमको स्न्यापड्रागन ८१५५ चीप र डिपलको आफ्नै अपरेटिङ सिस्टम पाउन सकिन्छ। यस ईभीमा ४ वटा ‘ड्राइभिङ मोड’ दिइएकाले यो कारलाई इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज मोडमा ड्राइभ गर्न सकिन्छ। ड्राइभिङ मोड धेरै भएका कारण चालकलाई चाहेजस्तो ड्राइभिङ अनुभव दिलाउँछ।
सुरक्षाका लागि डिपल एस०७ मा इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोलसहितको इन्टेलिजेन्ट एडास २.५, ६ वटा एअर ब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिंग, ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम, सेफ डिस्टेन्स वार्निंग, ट्रान्सपरेन्ट च्यासिससहितको ३६० डिग्री क्यामेरा, ड्राइभ भिडियो रेकर्डरलगायत फिचर पाउन सकिन्छ।