काठमाडौं। किसानको आयस्तर वृद्धि गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य चाहेको कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन्। यसका लागि निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।
शनिबार मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सव कार्यक्रममा सहभागी मन्त्री अधिकारीले कृषि क्षेत्रमा निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
रैथाने खाद्यान्न उत्पादनमा जोड, रासायनिक विषादी प्रयोग न्यूनीकरण, स्वच्छ उत्पादन, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत, चक्लाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने विषय मुख्य प्राथमिकतामा रहेको उनले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० बढीले कार्यपत्र प्रस्तुत गरे।
कार्यपत्रमाथि आ–आफ्ना दृष्टिकोण राख्दै वक्ताहरूले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकार औद्योगिक आयोजना विकासमा, स्थानीय सरकार उत्पादन र वितरणमा लाग्नुपर्ने सुझाए।
योजना आयोग सदस्य डा. जयबहादुर टन्डनले निजी क्षेत्रको लगानी आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यक रहेको औंल्याए।