नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी)को क्रेज बढ्दो छ। नेपाली अटोमोबाइल बजार ईभीमय बनेसँगै इन्धन सवारीसाधन ओझेल परेको छ। इन्धन गाडीका आयातकर्ता तथा वितरक यतिबेला चिन्तामा छन्। इन्धन गाडीलाई नीतिगत रुपमै समस्यामा पारिएको गुनासो अटो व्यवसायीको छ। हुन त, विद्युतीय सवारीसाधन पनि एउटै कम्पनीले आधा दर्जन बढी ब्रान्ड ल्याएर बजारमा दबदबा कायम गरिरहेका छन्। नेपाली अटो मोबाइलको अवस्था र चुनौती विषयमा केन्द्रित रहेर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष तथा जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छालाई क्यापिटल नेपालका कमला भण्डारीले सोधेका ५ प्रश्नः
आईसी इन्जिन सवारीसाधनको व्यवसाय गर्दागर्दै ईभीतिर हात हाल्नुभयो। कस्तो छ, दुवैतिरको बजार?
पछिल्लो समय आईसी इन्जिन गाडीको बजार एमदमै घटेको छ। हामी व्यवसायी हो, त्यसकारण जे बिक्छ त्यही ल्याएर व्यापार गरिरहेका हुन्छौं। के ल्याउने, कति ल्याउने र कुन बढी बेच्ने भन्ने कुरा राज्यले तय गर्छ। त्यसैअनुसार हामीले ईभी र आईसीई दुवै गाडी आयात गरिरहेका छौं। ईभीमा ग्राहक आकर्षण बढ्दै गएकाले अहिले बिजुली गाडी बेचिरहेका छौं। अहिले डिजेल, पेट्रोलका गाडी बेच्ने व्यवसायी मर्कामा परिरहेका छन्। विशेषतः बैंकिङ फाइनान्सले पनि समस्या परिरहेको छ। बैंक फाइनान्स आईसीमा अलि धेरै दिए ग्राहक र व्यवसायी दुवैलाई राम्रो हुन्थ्यो। सरकारले ईभी र डिजेल पेट्रोल गाडीमा बैंक फाइनान्स बराबर बनायो भने व्यवसायी र ग्राहक दुवैलाई राम्रो हुन्छ।
ईभी ब्रान्ड यति धेरै आएका छन्। यो नेपालका लागि टिकाउपूर्ण छ?
नेपाली बजारमा ईभीका धेरै ब्रान्ड भित्रिएका छन्। धेरै सवारीसाधन बेच्न सक्ने राम्रा हुन्छन्। जुन कम्पनीले धेरै बेच्न सक्दैनन्, उनीहरूलाई गाह्रो हुन्छ। ग्राहकले कुनै पनि सवारीसाधन खरिद गर्दा यी सबै कुरा बुझ्नुपर्छ। यसले व्यवसायी र ग्राहक दुवैलाई राम्रो हुन्छ। व्यवसायीले कुनै पनि ब्रान्डमा हात हाल्नुभन्दा पहिले सोचेर ल्याउनुपर्छ। व्यवसायीले कम्पनीको ब्याकअप कस्तो छ नबुझी ल्यायो भने पछि गाडी आएपछि अचानक कम्पनी बन्द हुँदा त्यसको पार्ट्स नपाउने सम्भावना हुन्छ। हामीले यहाँ बेचेको ग्राहकलाई सर्भिस दिनुपर्छ र सर्भिस दिन सकिएन भने हामीलाई नै घाटा लाग्छ। कम बिक्ने गाडी होस् या बढी बिक्ने गाडी। हाम्रो खर्च उति नै लाग्छ। शाेरुम खोल्दा कर्मचारी राख्दा लगभग सबैमा उति नै खर्च लाग्ने हुँदा कुनै पनि ब्रान्ड ल्याउँदा यी सबै कुरा सोचेर ल्याइए टिक्छ।
भारतमा फोर्ड प्लान्ट बन्द भयो। अहिले फोर्ड गाडीको बिक्री अवस्था कस्तो छ। यसको मर्मतका सामान पाइँदैनन् भन्ने छ। जथाभावी ईभी ल्याउँदा भोलि यही समस्या आउँदैन?
फोर्ड प्लान्ट बन्द भएको लगभग तीन वर्ष भयो। अहिले पनि फोर्डको पार्ट्स पाउँदैन कसैले भन्छ भने त्यो गलत हो। अहिलेसम्म सबै पार्ट्स पाइराखेको छ। केही समस्या छैन। फोर्ड गाडी लिएका ग्राहकलाई हामीले राम्रोसँग सर्भिस दिइरहेका छौं।
एउटै कम्पनीले धेरै ब्रान्ड लिने होड चलिरहेको छ। यसले ग्राहकलाई के फाइदा हुन्छ?
एउटा व्यवसायीले ३ ब्रान्ड ल्यायो भने धेरै लागत बाँडफाँट हुन सक्छ। धेरै नयाँ ब्रान्डका शाेरुम काठमाडौंमा मात्रै सीमित छन्। एउटा ब्रान्डले दुईभन्दा बढी ब्रान्ड ल्याए उसले देशैभरि शोरुमकाे पहुँच लैजान्छ। ग्राहकलाई जो स्थापित भएका व्यवसायी छन्, जसले दुई तीन ब्रान्ड ल्याएर बिक्री वितरण गरिरहेका छन्, त्यस्ता कम्पनीलाई विश्वास गर्न सजिलो हुन्छ। व्यवसायीमाथि राम्रो आश्वासन हुन्छ। ग्राहकलाई पनि आफूले किनेको ब्रान्ड लामो समयका लागि छ भन्ने विश्वास हुन्छ। यसले गर्दा त्यही ब्रान्डको सर्भिस सेन्टर नेपालभरि नहोला। अन्य ठाउँमा आफ्नो अर्काे ब्रान्ड तथा अर्काे डिलरमार्फत पनि सहयोग गर्न सकिन्छ। यो भनेको ग्राहक फाइदाकै कुरा हो।
बिनापूर्वाधार (सर्भिस सेन्टर, चार्जिङ स्टेसन, दक्ष जनशक्ति) नभई यति धेरै विद्युतीय सवारी आएका छन्। भोलि मुलुककै लागि अप्ठेरो अवस्था सिर्जना हुँदैन?
ब्रान्ड टु ब्रान्डको आयात हेर्नुपर्छ। अधिकांश ब्रान्डले राम्रो गरेका छन्। सबै ब्रान्डको नराम्रो छैन। ग्राहकले सवारीसाधन किन्दा त्यो कुरा पनि सोचविचार गरेर लिनुपर्छ। सर्भिस कहाँबाट दिन्छन्, पुरानो क्रियाकलाप कस्तो छ, सेवा कस्तो छ? यी सबै बुझेर ग्राहकले सवारीसाधन किन्नुपर्छ। अहिले राजमार्गका मुख्यमुख्य ठाउँमा चार्जिङ स्टेसन छन्। नेपालमा चार्जिङ स्टेसन अझै बढ्दो क्रममा छ। हामी दुई तीन वटा कम्पनी मिलेर ३० वटा डिसी चार्जर स्टेसन नेपालभरि राख्ने योजना बनाइरहेका छौं। एसी चार्जर जति पनि हुन्छ। सबैले एउटै ठाउँमा राख्नुको सट्टामा अब हामीले सहकार्य गरेर देशभर सेवा पुर्याउनुपर्छ। यो वर्ष ३० चार्जिङ स्टेसन बनाउने योजनामा छौं।