काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार गठनपछिको छोटो अवधिमै महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको बताएका छन्।
शनिबार लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन शनिबार शिलान्यास गर्न रुपन्देही पुगेका अर्थमन्त्री पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको दाबी गरेका हुन्।
‘अर्थतन्त्र दबाबमा छ, निराशामा रहेको निजी क्षेत्रले आशा, विश्वास र भरोसाका साथमा उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ। दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको छ। वर्तमान सरकारले एकैसाथ राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको छ’, उनले भने।
विकासका काम सत्ता र प्रतिपक्ष मिलेर गर्नुपर्ने उनको भनाइ छ। विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने र यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको मन्त्री पौडेलले बताए। प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना सम्पन्न गर्न जनस्तरबाट नियमित निगरानी हुनुपर्ने आवश्यकता उनले औंल्याए।
आयोजना समयमै सकेर स्यावासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उनले आग्रह गरे। ‘छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन। गुणस्तरीय काम गरेर समयमै सक्ने गरी अगाडि बढ्नुपर्छ। भनेकै अवधिमा काम पूरा होस्’, अर्थमन्त्री पौडेलले भने।
१२ सय शय्याको अस्पतालमा ठूलो संख्यामा दक्ष जनशक्ति आवश्यक पर्ने भन्दै अर्थमन्त्री पौडेलले विशेषज्ञ चिकित्सकसहित जनशक्ति व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्ने बताए। प्रदेश सरकारको ६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ‘ड्रिम प्रोजेक्ट’ हो।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका लागि चालु आवमा १ अर्ब ८० करोड बजेटसमेत विनियोजन गरेको छ। अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख लागतमा ठेक्का सम्झौता गरेको छ।
लुम्बिनी प्रदेश मातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरण र भारतीय निर्माण कम्पनी क्याप साइट आशीष रेलिग्रेट भेन्चरसँग नेपाली कम्पनी आशीष रेलिगेसनबीच संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ मा सम्झौता गरेको थियो।