काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन मुग्लिन–पोखरा सडक निर्माण स्थलगत अनुगमन गर्दै तोकिएको समयमै काम सक्न निर्देशन दिएका छन्।
दाहालले शुक्रबार मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुने र पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्मको सडकको स्थलगत अनुगमन गरेको उनको सचिवालयले बताएको हो।
उनले आयोजनाको काममा आइपर्ने समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ढिलासुस्ती नगर्न आग्रह गरे।
मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगतिबारे मन्त्री दाहाललाई जानकारी गराए। यो खण्डमा हालसम्म ६५ प्रतिशत प्रगति भएको पाण्डेले बताए। त्यस्तै दमौलीस्थित मादी नदीमा निर्माण भइरहेको पुलमा ३० प्रतिशत प्रगति भएको उनको भनाइ छ।
यो खण्डमा एक वर्षमा ५५ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको छ। पूर्वी खण्डअन्तर्गत व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका पर्छन्। त्यसमध्ये व्यास नगरपालिकाको दमौली बजार र डुम्रे बजारका केही भागमा घरटहरा हटाउन ढिलाइले कालोपत्रे हुन सकेको छैन।
पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र १०३ तीन कल्भर्ट निर्माण सकिएको छ। पूर्वी खण्डमा २०७७ माघ १७ मा सम्झौता भई २०७८ वैशाख २ देखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।
पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म २० किलोमिटर दुई लेन सडक कालोपत्रे सकिएको छ। मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौडेलका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटा पुल सम्पन्न भएका छन्।
पश्चिम खण्डको म्याद भदौ १२ सम्म थियो। पश्चिम खण्डमा २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ।