काठमाडौं । नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न भएको छ।
नेपाल तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारीबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाली युवालाई रोजगारमूलक सीपमार्फत रोजगारीका लागि योग्य बनाउने विषय केन्द्रित थियो।
नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम (टी–भेट) मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौती सम्बोधन गर्ने, निजी क्षेत्रको सहभागिता बढाउन नीतिगत सुझाव दिने र टी–भेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने ल्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको हो।
कार्यक्रम उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा, व्यवसाय र श्रमलाई जोड्ने गरी नीति बनाइनुपर्ने धारणा व्यक्त गरिन्।
कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ईटीएच ज्युरिकका प्रोडा. उर्सुला रेनोल्डस्ले संघीय संरचनामा टी–भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नता हुनुपर्ने औंल्याइन्। शिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने सुनिश्चितता गर्नुपर्नेमा उनले जोड दिइन्।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सीप अभाव रहेको बताए। उद्योगले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेको बताउँदै दक्ष जनशक्ति विकासका लागि शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्नेमा उनले जोड दिए।
स्वीस दूतावासका डेपुटी हेड अफ मिसन/चार्जे डी’अफेयर्स माथियास मेईरले स्वीट्जरल्यान्डले ड्वेल–भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा एक वर्षदेखि प्रवर्द्धन गर्दै आइरहेको जानकारी दिए।
सिटीईभिटीका सदस्य–सचिव महेश भट्टराई, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सीपयुक्त जनशक्ति बनाउन नेपाली युवालाई शिक्षा र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।
सेमिनारमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ र उद्योग बाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिबीच छलफल गरिएको थियो।