क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी)सम्बन्धी विधेयक प्रमाणित गरेका छन्। संघीय संसद्को दुवै सदनबाट पारित भएको विधेयक पौडेलले भदौ १३ गते प्रमाणीकरण गरेका हुन्। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरणसँगै राजपत्रमा प्रकाशित हुनासाथ कानुनी रुप लिने संवैधानिक व्यवस्था छ।
नयाँ/पुराना उत्पादनका गाडी बिक्रीको कुम्भ मेला मानिने १६औं संस्करणको ६ दिने नाडा अटो शो काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सञ्चालन भइरहेको नाडा मेला भदौ ११ मा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे। अटो मेलामा २४ चारपांग्रे, १९ दुईपांग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड प्रदर्शनमा राखिएका छन्। १३० स्टल सहभागी नाडा मेलामा विभिन्न कम्पनीले भित्र्याएका नयाँ र पुराना पेट्रोल÷ईभी गाडी १० लाखसम्मको छुट दिएर बिक्री भइरहेका छन्।
सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ। भदौ १३ को मन्त्रिपरिषद् बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो। हालका मुख्यसचिव लीलादेवी गड्तौलाले ५८ वर्षीय उमेर हदका कारण भदौ १४ देखि अवकाशमा जाने भएपछि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो। निजामती सेवाका सचिवमध्ये वरीयताक्रममा चौथो नम्बरमा रहेका अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गर्ने निर्णय लिएको हो। सचिवमा सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, दोस्रोमा सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र तेस्रोमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए।
नेपाली बजारमा यो साता सुन मूल्यले रेकर्ड ब्रेक गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ १३ मा छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५३ हजार २०० मा कारोबार भएको हो। यसअघि भदौ १२ मा सुन प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि भदौ ५ मा छापावाला सुन प्रतितोला १ लाख ५३ हजारमा कारोबार भएको थियो।
नेपाली सेनाका कामु प्रधानसेनापति अशोक सिग्देल प्रधानसेनापतिमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा भदौ २४ देखि लागू हुने गरी सिग्देललाई भदौ १२ मा प्रधानसेनापति नियुक्त गरेका हुन्। हालका प्रधानसेनापति प्रभुराम शर्मा भदौ २४ देखि अनिवार्य अवकाशमा जानेछन्। सिग्देल ०८४ भदौ २४ सम्म प्रधानसेनापतिमा रहनेछन्।
अर्थ मन्त्रालयले भन्सार, कर र राजस्व कार्यालयका ५८ उपसचिवको एकै पटक सरुवा गरेको छ। मन्त्रालयले भदौ १३ मा काठमाडौं उपत्यकासहित मुलुकका आन्तरिक राजस्व कार्यालयका २३ प्रमुखको सरुवा गरेको हो। अर्थले तातोपानी, जलेश्वर र कैलाली भन्सार कार्यालयका प्रमुख फेरेको छ। कर र भन्सारका १० जना उपसचिवलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ।
यो साता सेयर बजारमा २२४.८९ अंकको गिरावट आएको छ। सेयर बजार यो साता २२४.८९ अंकले घटेर २७४९.५७ बिन्दुमा समेटिएको छ। गत साता २६.३५ अंकले घटेर सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९७४.४६ बिन्दुमा रोकिएको थियो। यो साता नेप्सेमा कुल ६३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता नेप्सेमा कुल ६५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौता भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने १२३.६० लाख अमेरिकी डलर लागतमा निर्माण गर्ने गरी भदौ १४ मा ट्रान्सरेल लाइटिङ लिमिटेडसँग सम्झौता भएको हो। बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष अन्त्यसम्म बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको छ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटाएको छ। भदौ १४ को समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको सभापति रामहरि खतिवडाले जानकारी दिएका हुन्। सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकमा पाँच वर्षे प्रावधान राख्न खोजेपछि चौतर्फी आलोचना भएको थियो। सरकारका प्रतिनिधि गृहमन्त्री रमेश लेखक र सांसदबीच सहमति भएसँगै सभापति खतिवडाले विधेयकको दफा १६ मा उल्लिखित हदम्याद प्रावधान हटाउने प्रस्ताव पेस गरेका थिए। समितिमा राजनीतिक दलहरूबीच सहमति जुटेसँगै विधेयक काननु बने जुनसुकै समय भ्रष्टाचारसम्बन्धी मुद्दा चलाउन बाटो खुल्नेछ।
नेपाल विद्युत् प्राधिकरणले मुलुकमा विद्युत् (ऊर्जा) खपत तीन गुणा बढेको विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले भदौ १० मा सार्वजनिक गरेको आँकडाअनुसार आर्थिक वर्ष २०७२/७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०/८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ। आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो। गत आवमा सबैभन्दा बढी गार्हस्थतर्फ ४ अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ ३ अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ। बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ।