काठमाडौं । एक वर्षमै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७९/८० अन्त्यसम्म नेपालमा कुल २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो।
अघिल्लो वर्षसम्म नेपालमा कुल २ खर्ब ६० अर्ब ६३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको थियो। गत वर्ष ११.८ प्रतिशत अर्थात ३४ अर्ब ८६ करोड रुपैयाँ एफडीआई नेपाल भित्रिएको हो।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागद्वारा गरिएको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’अनुसार नेपालको कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चितिको ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ। प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन अनुसार नेपालको एफडीआई बढ्नुमा चुक्ता पुँजीको अंश वृद्धि मुख्य कारण रहेको उल्लेख छ।
उक्त अवधिमा नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ।
कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ।
नेपालमा विभिन्न ५८ वटा देशले विभिन्न क्षेत्रमा लगानी गरेका छन्। यसमध्ये सबैभन्दा धेरै भारतले १ खर्ब ३ अर्ब ५ करोड, चीनले ३५ अर्ब ५ करोड, आयरलयाण्डले २२ अर्ब ६ करोड, अष्ट्रेलियाले १९ अर्ब १ करोड र सिंगापुरले १८ अर्ब ८ करोड रुपैयाँ लगानी गरेका हुन्।
यसैगरी नेपालमा भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १ ५९.७ प्रतिशत अर्थात् खर्ब ७६ अर्ब ४३ करोड, गण्डकीमा १५.१ प्रतिशत ४४ अर्ब ६४ करोड, कोसीमा १४.७ प्रतिशत अर्थात् ४३ अर्ब ४५ करोड, मधेशमा ८.८ प्रतिशत अर्थात् २५ अर्ब ९६ करोड, सुदुरपश्चिममा ०.९ प्रतिशत अर्थात् २ अर्ब ७१ करोड, लुम्बिनीमा ०.८ प्रतिशत अर्थात् २ अर्ब २३ करोड र सबैभन्दा कम कर्णालीमा ०.०२ प्रतिशत अर्थात् ५ करोड २५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।