काठमाडौं । हुलाकी राजमार्ग आयोजना निर्माण सुरु भएको एक दशक पुरा भइसकेको छ । आव २०७४/०७५ मै सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको आयोजना निर्माणको काम हालसम्म करिब आधा मात्र सकिएको छ ।
आर्थिक वर्ष २०६६/०६७ मा औपचारिक सुरु भएको हुलाकी राजमार्ग हालसम्म ३ सय ८० किलोमिटर मात्रै कालोपत्रे भएको छ । आयोजनाको कुल लम्बाई १ हजार ७ सय ९२ किमी रहेको छ ।
निर्माणमा ढिलाई भएपछि पछिल्लो पटक आयोजनाको म्याद थप गरेर आगामी २०७९/८० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
त्यसमध्ये हालसम्म साढे ९ किमी सडक ग्राभेल र ८५ ओटा पुल निर्माण सम्पन्न भइसकेको विभागका पुल महाशाखा प्रमुख अशोक तिवारीले बताए ।
थुप्रै चुनौतीका बाबजुद पनि आयोजना केही सुस्त गतिमा अघि बढेको र पछिल्लो समय भने निर्माणले गति लिन थालेको तिवारी बताउँछन् । उनि भन्छन् ‘विगतमा हुलाकी राजमार्ग अनिश्चित जस्तै लाग्ने गरेकोमा अहिले भने दुइबर्षभित्र आयोजना सम्पन्न हुनेमा ढुक्क छु ।’
विगतमा सार्वजनिक खरिद ऐन, राजनीतिक अस्थिरता, बजेट अभाव, ठेकेदारको लापरबाहीका कारण आयोजनाको गति सुस्त रह्यो ।
६ महिनामा ११८ किमि कालोपत्रे
चालू आव २०७६/०७७ को ६ महिनामा १ सय १८ किलोमिटर सडक कालोपत्रे भएको छ । यसबर्ष साढे ३ सय किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य छ । चालू आवमा ६० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य आयोजनाको लक्ष्य छ ।
पूर्व–पश्चिम सडक खण्डको झन्डै ३०० किमी सडक भारतीय निर्माण कम्पन मार्फत निर्माण भइरहेको छ । हालसम्म आयोजनाको झन्डै ४५ प्रतिशत वित्तीय प्रगति अर्थात झन्डै २७ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको आयोजनाले जनाएको छ । यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो ।
संशोधित लागत ६५ अर्ब २० करोड रहेको छ । जसमा भारत सरकारको पनि अनुदान सहयोग छ । अधिकांश तराइका २० जिल्ला भएर निर्माण हुने राजमार्ग बनेपछि झन्डै ९० लाख भन्दा बढी व्यक्ति लाभान्वित हुनेछन् ।
निकुन्ज पर्ने ११० किमी अझै अलपत्र
हुलाकी राजमार्गअन्र्तगत चितवन राष्ट्रिय निकुन्ज हुँदै ११० किलोमिटर सडकखण्डको ‘एलाइनमेन्ट’ तथा रेखाङ्कन नहुँदा अन्योल छ । निकुन्ज प्रयोगका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मुल्याङ्कन(इआईए) स्वीकृती दिएपनि निकुन्ज क्षेत्रबाट जाने राजमार्गको रेखाङ्कन अझैसम्म पनि हुन सकेको छैन् ।
निकुञ्जको इआए स्वीकृती भएपनि युनेस्कोले सहमति नदिँदा निकुञ्ज खण्डको राजमार्गको रेखाङ्कन अन्योलमा परेको आयोजनाको दाबी छ ।
‘हुलाकी राजमार्गको अहिलेको सवैभन्दा ठूला समस्या चितवन राष्ट्रिय निकुन्ज भएर जाने रुट नै हो । करिव ११० किमी खण्ड रहेको निकुन्ज क्षेत्रको इआए भएपनि युनेस्कोले सहमति दिएको छैन’ उनले भने, ‘यसले केही अन्योल पारेको छ तर, आवश्यक पहल गरेका छौं ।’
भरतपुर—ठोरी खण्डमा ८ पुल सुरु, २ पुल अलपत्र
चितवनको भरतपुर—माडी—ठोरी सडकको माडी गाउँपालिका आसपासमा करिव १० ओटा पुल गर्नुपर्छ । विगत ८ बर्षदेखि ती पुल निकुन्जकै कारणले काम अघि बढ्न नसकी अलपत्र बने । अहिले ८ ओटा प्ुलको निर्माण कार्य सुरु भएपछि अझै २ ओटा पुल निर्माणको काम अनिश्चित छ ।
चितवन र नवलपरासी जोड्ने गरी नारायणी नदीमा बन्ने ती दुइ पुल अपलत्र परेका हुन् । सडक विस्तारका लागि वातावरणीय प्रभाव मुल्याङ्कन(इआइए) ड्राफ्ट परिमार्जित गरी स्वीकृतीका गर्नुपर्दा लामो समय पुल निर्माण अघि बढ्न सकेन् । अहिले भने मन्त्रालयले इआए स्वीकृती गरेपछि ८ ओटा पुल निर्माण सुरु भएका छन् । बाँकी दुइओटा पुल भने निर्माण हुने हो अनिश्चित छन् ।
उत्खननमा स्थानीय सरकारको अवरोध कायमै
कहिँले ठेकेदारले भुक्तानी नपाउँदा त कहिँले निर्माण सामग्री र रकम निकासामा हुने ढिलाइले आयोजना धिमा गतिमा अघि बढेको छ । अहिले आयोजना निर्माणमा वित्तीय स्रोतको कुनै समस्या नरहेको र काम तीव्रताका साथ अघि बढेको तिवारीको तर्क छ ।
तर, उनले स्थानीय तहले ढुंगा, गिटी र बालुवा जस्ता उत्खननयोग्य वस्तु ओगटेर बस्दा आयोजनामा समस्या पर्ने गरेको बताए । सडक कालोपत्रे र पुल निर्माणका लागि आवश्यक ढुंगा, गिट्टी बालुवा जस्ता प्राकृतिक स्रोत पर्याप्त आवश्यक हुन्छ ।