काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा सिजी र एमएडब्लू वृद्धिको दबदबा देखिएको छ। नेपाली बजारमा ईभीको बढ्दो माग र ग्राहकको आवश्यकतालाई लक्षित गर्दै सिजी मोटर्स र एमएडब्लू वृद्धिले सबैभन्दा धेरै स्टल राखेका छन्। गाडीको वृहत्त प्रदर्शनी नाडा अटो शोमा सिजीले ८ एमएडब्लू वृद्धि ६, शारडा ग्रुप २, लक्ष्मी ग्रुप २ र सांग्रीला मोटर्सले २ स्टल राखेका छन्।
८ स्टलमा ८ ब्राण्ड राखेको सिजी मोटर्सले नेटा, आयोन वाई, एक्सपेङ, अवतार, राडार, केवाईसी र किङलङ ब्राण्डका इलेक्ट्रिक गाडी तथा हिरो ब्राण्ड मोटरसाकललाई प्रदर्शनीमा राखेको छ। कम्पनीले एक्सपेङ, अवतार, रिडारा र हिरो ब्राण्डलाई नाडाबाट नै औपचारिक रुपमा सार्वजनिक गरेको हो। सीजी मोटर्सले नाडा अटो शो २०८१ लाई लक्षित गरेर नेपाली बजारमा ४ वटा नयाँ ब्राण्ड सार्वजनिक गरेको छ।
दोस्रो बढी स्टल राख्ने एमएडब्लू वृद्धिले ६ स्टलमा दुई पांग्रेसहित ६ वटा ब्राण्ड राखेको छ। एमएडब्लू वृद्धिको डिपल, सेरेस र फोटोन ब्राण्ड नाडा मेलामा राखेको हो। कम्पनीले पहिलोपटक नामी र सोकोन ब्राण्डलाई नाडा मेलाबाट नै औपचारिक रुपमा सार्वजनिक गरेको छ। एमएडब्लू वृद्धिले यामाहा मोटरसाइकललाई पनि नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ।
शारडा ग्रुपले ओमोडा, जेको जे सिक्स र जीकर ब्राण्डका इलेक्ट्रिक गाडी प्रदर्शनीमा राखेको छ। जसमध्ये जीकर र जेकोलाई कम्पनीले पहिलोपटक नाडाबाट नै औपचारिक रुपमा लन्च गरेको हो। सांग्रिला मोटर्सले सिट्रोन र लिप मोटर्सका ईभी लिएर मेलामा सहभागी भएको छ। लक्ष्मी ग्रुपले हुन्डाई ब्राण्डका मोडल र नयाँ ब्राण्ड काईलाई प्रदर्शनीमा राखेको छ।
यसैगरी, नाडा मेलामा सिप्रदीले टाटा ब्राण्डका गाडी र पारामाउन्ट मोटर्सले एमजी, कन्टिनेन्टल ट्रेडिङले किया ब्राण्डका गाडी, अग्नि इन्कर्पोरेटले महिन्द्रा, सिजी मोटोकर्पले सुजुकि, साइमेक्स ईकंले बीवाइडी,जी मोटर्सले स्काइवेल, एस क्यूप इन्टरप्राइजेजले हेनरी एबं भोल्ट्स ब्राण्ड, एलआरआर ग्रुपले बीएडब्लूको ब्रम्बी गाडी राखेका छन्।
यस वर्षको नाडा मेलामा २३ चारपांग्रे, १९ दुईपांग्रे, १३ हल्का व्यावसायिक सवारीसाधनका ब्राण्डले प्रदर्शनी गरेका छन्। नाडा शोमा ३३ कम्पनीले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट प्रदर्शन र ११ वित्तीय संस्थाले सहभागिता जनाएका छन्। शोमा ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका हुन्।
सिजी मोटर्सका ब्राण्ड
अवतार ११
अवतार विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनी चांगन टेक्नोलोजीमा अग्रणी कम्पनी हुवाई र उत्कृष्ट ब्याट्री उत्पादक कम्पनी सीएलटीएलको साझेदारीमा उत्पादन भएको ब्राण्ड हो। अवतार–११ प्रिमियम सेग्मेन्टमा पर्ने लक्जरियस र फ्युचुरिस्टिक एसयूभी हो। यो गाडीले एक पटकको फूल चार्जमा ६८० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। अवतार नाडा अटो शोको स्टल नम्बर एच १३ मा राखिएको छ। यसको मूल्य १ करोड ४५ लाख रुपैयाँ रहेको छ।
एक्सपेङ जी–६
एक्सपेङ सिजी मोटर्सले नाडा अटो शोमा ल्याएको नयाँ ब्राण्ड हो। यो प्रिमियम सेग्मेन्टमा पर्ने गाडी हो। यो गाडी नाडा अटो शोको स्टल नम्बर जी १२ मा राखिएको छ। सिजीले यो नाडा अटो शोको पहिलो दिन नै सार्वजनिक गरेको हो।
यो गाडीले एक पटकको फुल चार्जमा ४३५ किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। यसमा १९० किलोवाट आवरको मोटर र ६६ किलोवाट आवरको ब्याट्री दिइएको छ। एक्सपेङ जी–६ ले २१५ किलोवाटसम्मको डिसी फास्ट चार्ज सपोर्ट गर्छ। यो गाडी १० देखि ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्नेछ।
रिडारा
रिडारा सिजी मोटर्सले नाडा अटो शोको लागि ल्याएको नयाँ ब्राण्ड हो। यो गाडी नाडा अटो शोको स्टल नम्बर ए ९ मा राखिएको छ। यसमा ६३ किलोवाट आवरको ब्याट्री र २०० किलोवाटको मोटर जडान गरिएको छ। यसले ३७७ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
नेटा एक्स
नेटा सिजी मोटर्सले पहिले नै नेपाल ल्याएको ब्राण्ड हो। यसलाई सिजी मोटर्सले स्टल नम्बर ए ३ मा राखेको छ। नाडा अटो शोलाई लक्षित गरी सिजीले नेटा एक्स मोडल ल्याएको हो। यस गाडीले ५०० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गरेको छ। नेटा एक्समा ८ वर्ष १ लाख ८० हजार किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी दिएको छ।
जीयसी आयोन
यस वर्षको नाडा अटो शोमा सिजी मोटर्सले जीयसी आयोनको ३ मोडलका गाडीहरु अटो शोमा प्रदर्शनीमा राखेको छ। सिजीले हाइपर, आयोन वाई र आयोन भी मोडलहरु प्रदर्शनीमा राखेको छ। हाइपर र आयोन वाई पहिले नै नेपाल आएको ब्राण्ड हो। सिजीले नाडा अटो शोका लागि आयोन भी नयाँ मोडल ल्याएको हो।
केवाइसी
सीजी मोटर्सको प्यासेन्जर सेगमेन्टका भ्यान पनि नाडा अटो शोमा राखेको छ। केवाइसीको ७ सिटर भ्यान नाडाको स्टल नम्बर जे २ मा प्रदर्शनीमा राखिएको छ। सिजी मोटर्सले नेपाल ल्याएको केवाईसीले विगतका वर्षहरूमा ग्राहकहरूको मन जित्न सफल भएको छ।
किङलङ
सिजी मोटर्सले प्यासेन्जर सेग्मेन्टमा लामो रुटको लागि लक्जरीयस र कम्फर्टेवल यात्राका लागि किङलङका १९ सिटर, १६ सिटर र १५ सिटर भ्यान सार्वजनिक गरेको छ। यो भ्यान नाडाको स्टल नम्बर जे १ मा प्रदर्शनीमा राखिएको छ। यस्तै, सिजी मोटर्सले दुई पांग्रे सवारीसाधनको ब्राण्डको पनि एउटा स्टलमा राखिएको छ।
सिजी पछि सबैभन्दा धेरै ब्राण्ड प्रदर्शनीमा राख्ने कम्पनी एमएडब्लू वृद्धि हो। एमएडब्लू वृद्धिले यस वर्षको नाडा अटो शोमा ६ वटा नयाँ पुरा ब्राण्ड प्रदर्शनीमा राखेको छ।
एमएडब्लू वृद्धिका ६ ब्राण्ड
नामी
नामी एमएडब्लू वृद्धि अटोकर्पले नाडा अटो शोमा ल्याएको नयाँ ब्राण्ड हो। डोङफेङको नामी नाडा अटो शोमा स्टल नम्बर ए ७ मा राखिएको छ। नामी ब्राण्डका दुई भेरियन्ट नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ।
डिपल
डिपल एमएडब्लू वृद्धिले पहिले देखि नै बिक्री वितरण गर्दै आएको ब्राण्ड हो। कम्पनीले आफ्नो दुई इलेक्ट्रीक मोडल एस–०७ र एल–०७ स्टल नम्बर एच १४ मा प्रदर्शनीमा राखेको छ।
सेरेस
एमएडब्लू वृद्धि अटोकर्पले सेरेसका दुई मोडल सेरेस थ्री र सेरेस मिनि इभी स्टल नम्बर ए ६ मा प्रदर्शनीमा राखेको छ। कम्पनीले नाडा अटो शो अवधिका लागि सेरेस थ्रीमा विशेष अफर ल्याएको छ।
फोटोन
नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले फोटोनका १४ र १५ सिटर भ्यान पनि नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ।
सोकोन
सोकोनका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले सोकोन ब्राण्डका ११ सिटर भ्यान नाडा अटो शोमा प्रदर्शनीमा राखेको छ। यस्तै, एमएडब्लू वृद्धिले दुई पांग्रे सवारीसाधनको पनि स्टल राखेको छ।
सारडा ग्रुपले राखेका ब्राण्ड
जिकर
यस वर्षको नाडा अटो शोमा सारडा ग्रुपले जिकर एक्स नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको नयाँ ब्राण्ड हो। जिकर सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले प्रदर्शन गरेको छ।
ओमोडा
नेपालको लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडाको स्टलमा जेको जे सिक्स र ओमोडा ई–५ मोडल प्रदर्शनीमा राखेको छ।
सांग्रीला मोटर्सले राखेको ब्राण्ड
सिट्रोन
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रीला मोटर्स हो। सिट्रोन नेपालमा पहिले नै बिक्री वितरण हुदै आएको ब्राण्ड हो। सांग्रीला मोटर्सले सिट्रोन ईसी–३, सिट्रोन ईसी–३ साइन मोडल प्रदर्शनीमा राखेको छ।
लिपमोटर
लिपमोटर यस वर्षको नाडा अटो शोमा सांग्रीला मोटर्सले सार्वजनिक गरेको नयाँ ब्राण्ड हो। सांग्रीला मोटर्सले लिपमोटर सी–१० प्रदर्शनीमा राखेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले राखेको ब्राण्ड
हुन्डाई
नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल हो। हुन्डाई पहिले देखिनै नेपालमा बिक्री वितरण भइरहेको ब्राण्ड हो। कम्पनीले यस वर्षको नाडा अटो शोमा हुन्डाईका पहिले नै बिक्री हुदै आएको मोडलहरु प्रदर्शनीमा राखेको छ।
काई
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इमोबिलिटीले नेपाल ल्याएको नयाँ ब्राण्ड हो। लक्ष्मी इमोबिलिटीले नाडा अटो शोको स्टल नम्बर एच १६ मा काई ब्राण्डका गाडी प्रदर्शनीमा राखेको छ। कम्पनीले काई ब्राण्डका तीन मोडल एक्स प्रो थ्री, क्युट–०२ र क्युट–०४ प्रदर्शनी गरेको छ।