काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यकारी अधिकारसहित महाप्रबन्धक पठाउने तयारी संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। अदालतबाट अन्तरिम आदेश लिएर कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दै आएकाले युवराज अधिकारीलाई हटाउन नमिल्ने भएपछि कार्यकारी अधिकारसहित महाप्रबन्धक पठाउने तयारी पर्यटन मन्त्रालयले थालेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसमेत हालको नेतृत्वबाट निगम अगाडी बढ्न नसक्ने विषयमा सहमत भएपछि पर्यटनमन्त्री बद्री पाण्डेले अध्यक्ष अधिकारको अधिकार कटौती गरी कार्यकारी अधिकारसहित महाप्रबन्धक पठाउने प्रक्रिया अगाडी बढाएका हुन्। अध्यक्ष अधिकारीको कार्यकारी अधिकार खोसेर सञ्चालक समितिको अध्यक्षको रूपमा मात्र राख्ने तयारी स्वरूप बिहीबार ११ वटा प्रश्नसहित सात दिनभित्र लिखित स्पष्टीकरण मागिएको छ।
बिहीबार बिहान अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसदहरूले समेत अहिलेको नेतृत्वबाट निगम चलाउन नसकिने र विकल्प खोज्नुपर्ने बहुमतको सुझावपछि मन्त्री पाण्डेले साँझ स्पष्टीकरण सोधेका हुन्। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। सात दिनभित्रमा लिखित जवाफ दिन भन्दै स्पष्टीकरण सोधिएको र जवाफ अध्ययनपछि मन्त्रीले थप निर्णय लिने उनको भनाइ छ।
विगतमा पनि थियो यस्तो प्रचलन
निगमका कार्यकारी अधिकार खोस्ने र दिने प्रचलन पहिला देखिनै चल्दै आएको छ। तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले सुगतरत्न कंसकार महाप्रबन्धक रहँदा उनको कार्यकारी अधिकार खोसेर मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए।
खरेललाई सञ्चालक समितिले नै स्पष्टीकरण सोधेपछि उनले पदबाट राजीनामा दिएका थिए। खरेलपछि पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले पूर्वपर्यटन सचिव सुशील घिमिरेलाई अध्यक्षमा नियुक्त गरेका थिए। त्यसको केही समयपछि नै कार्यकारी अधिकारसहित महाप्रबन्धकमा डिमप्रकास पौडेललाई नियुक्त गरेका थिए।
पौडेलले निगम सञ्चालनका लागि साझेदार भित्र्याउने (निजीकरण)को प्रक्रिया अगाडी बढाएपछि असन्तुष्ट बनेका कर्मचारीले आन्दोलन गरेपछि पूर्वपर्यटनमन्त्री सुदन किराँतीले हालका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भित्र्याएका थिए। कार्यकारी अधिकार खोसिएपछि महाप्रबन्धक पौडेलले राजीनामा दिएका थिए।
उनले राजीनामा दिएपछि महाप्रबन्धकमा कसैलाई नियुक्त गरेको छैन। पहिलाको प्रचलनलाई निरन्तरता दिँदै हालका पर्यटन मन्त्री पाण्डेले कार्यकारी अधिकारसहित महाप्रबन्धक पठाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ।
मन्त्रालयले निगममा नियमित रूपमा उस्तै प्रवृत्तिमा कमजोरी एवं लापरबाहीको पुनरावृत्ति हुनु तथा व्यावसायिक कार्यसम्पादनस्तर कमजोरी भन्दै स्पष्टीकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार, कारण र प्रमाणसहित मन्त्रालयमा पेस गर्न आग्रह गरेको छ। निगम नेतृत्वले नेपालको उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिस्पर्धी र मुनाफायोग्य बनाउनु पर्ने भए पनि अध्यक्षको लापरबाही, असक्षमता र कमी-कमजोरीको कारण निगमको साख समेत गुम्दै गएको मन्त्रालयले बताएको छ।
यस्ता छन् स्पष्टीकरणमा मागिएका विषय
१. निगमका जहाजहरूको मर्मत तथा सी-चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी–चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चितता हुने गरी गर्नुपर्नेमा पर्याप्त समय अगाडि खरिद प्रक्रिया नसक्नुको कारण सी–चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुने गरी एकै पटक दुवै वटै वाइडबडी जहाज सी–चेकका लागि पठाइको सम्बन्धमा
२. जहाजको प्राविधिक परीक्षण, पार्टपुर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीता तथा गुणस्तरीयता हुने गरी गर्नु र गराउनुपर्ने हुन्छ। नेपाल वायुसेवा निगमका हरेक जसो मर्मत सम्भार तथा पार्टपुर्जा खरिदमा व्यापक उजुरी गुनासो आउने गरेका छन्। यसै सन्दर्भमा जहाजको सी–चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्य सम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो?
३. सी–चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरू पटाउँदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो। जहाजको सी–चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरूलाई बीचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरूकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरबाहीपूर्वक निगमलाई अतिरिक्त वित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण।
४.नियमित सी–चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्याइ राष्ट्रिय ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्याउनुको कारण।
५.नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरूको महत्त्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवं कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरू ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपूरणीय वित्तीय घाटा एवं निगमको साखमा पर्न गएको क्षतिको सम्बन्धमा।
६.समयबद्ध उडान नगरेबापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ? सोको विवरण र त्यसको कारण।
७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट इमेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा (करिब २ करोड) नोक्सानी बेहोर्नुपरेको भन्ने विषयमा।
८. निगमको चलअचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण।
९. निगमलाई व्यावसायिक रूपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण विसं २०८० चैत्र मसान्त सम्ममा करिब ५१ अर्ब २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईंको जिम्मेवारी सम्बन्धमा।
१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागिसमेत प्राप्त नगर्दै कर्मचारी खटाई वित्तीय व्यय भार वृद्धि गरिनुमा तापाईंको जिम्मेवारी सम्बन्धमा।
११. ट्विनअटर जहाजहरू नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजार हिस्सा अत्यन्त न्यून (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण।