काठमाडौं । व्यवस्थापन संकाय लिएर अध्ययन गर्ने अधिकांश विद्यार्थीको सपना बैंकर बन्ने हुन्छ। आकर्षक तलब भत्ता र बोनससहितको सेवा–सुविधाकै कारण बैंकिङ क्षेत्रमा रोजगारीको आकर्षण बढेको हो।
नियामकीय प्रावधानको पालना गर्नुपर्ने बैंकिङ क्षेत्रका संस्थाले आम्दानीबाट कर्मचारीको खर्च र बोनस कटाएर बचेको मात्रै लगानीकर्तालाई दिने गरी मुनाफा देखाउन् पाउँछन्। गत वर्षमा वाणिज्य बैंकहरुले कुल नाफाको ७०.१७ प्रतिशत कर्मचारीको तलब भत्ता र बोनसमा खर्च गरेका छन्।
राष्ट्र बैंकको नियमनमा रहने हुँदा यस क्षेत्र घाटामै गए पनि कर्मचारीको पारिश्रमिक सुनिश्चितताले पनि बैंकिङबाट अन्य क्षेत्रमा जनशक्ति स्थानान्तरण हुने संख्या कम छ। नाफाबाट सेयरधनीमा लाभांश वितरण गर्न नसके पनि कर्मचारीलाई बोनस ऐन, २०३० अनुसार कुल नाफाको १० प्रतिशत र सम्बन्धित बैंकको कर्मचारी विनियमावली र सम्झौताअनुसार तलब भत्तामा खर्च नगरे राष्ट्र बैंकले कारबाही गर्छ।
असारसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा कुल ४९ हजार कर्मचारी कार्यरत छन्। यी कर्मचारीले गत वर्ष औषतमा १४ लाख ५६ हजार ७२ लाख रुपैयाँ कमाएका छन्।
औषतमा सबैभन्दा बढी कमाइ स्ट्यान्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीको रहेको छ। यी बैंकको प्रतिकर्मचारी आम्दानी १५ लाख माथि छ।
उक्त अवधिमा सिटिजन्स र प्रभु बैंकका प्रतिकर्मचारी औषत आम्दानी भने अन्य बैंकको तुलनामा न्यून छ। यी बैंकका कर्मचारीले गत वर्ष औषतमा १० लाख रुपैयाँ हाराहारी मात्रै कमाएका छन्।
बैंकहरुले आम्दानीबाट कर्मचारीलाई खर्चिने परिमाण भने औषतभन्दा फरक पर्न जान्छ। बैंकका कर्मचारीले तलब भत्ता र बोनसमार्फत औषतमा लाखौं रुपैयाँ आर्जन गरेको देखिए पनि यस्तो रकम उनीहरुको पद र कार्यावधिको आधारमा फरक पर्छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनका कर्मचारीको वार्षिक आम्दानी अर्ब रुपैयाँ बढी हुन्छ। कर्मचारीका लागि बैंकले अपरिस्कृत वित्तीय विवरणका आधारमा छुट्याएका अनुमानित बोनस परिमाण अन्तिम लेखा परीक्षणपछि तलमाथि पनि पर्न सक्छ।
कर्मचारीलाई अर्बौं खर्चिंदा लगानीकर्तालाई शून्य
गत वर्षमा वाणिज्य बैंक कुल ९४ अर्ब १४ करोड १९ लाख रुपैयाँ कुल नाफा आर्जन गरेका थिए। यसमा कर्मचारी खर्च, सरकारलाई कर तिरेर बचत खुद नाफाबाट नियामकीय प्रावधानअनुसार विभिन्न शीर्षकका रिजर्भ, कोष र कर्जा जोखिम व्यवस्थापन प्रोभिजन गरेर बाँकी रहेको पैसा मात्रै लगानीकर्तालाई वितरण गर्न पाउँछन्।
गत वर्ष वाणिज्य बैंकले आर्जित आम्दानीबाट कर्मचारीको तलब र भत्ता गरी कुल ५५ अर्ब ६० करोड ३७ लाख रुपैयाँ खर्चिएका छन्। कुल नाफाको १० प्रतिशत अर्थात् १० अर्ब ४६ करोड २ लाख रुपैयाँ बोनसबापत छुट्याएका छन्।
कर्मचारी खर्च र छुट्याएको बोनस गरी वाणिज्य बैंकहरुले गत वर्षको आम्दानीबाट उनीहरुलाई ६६ अर्ब ६ करोड ४० लाख रुपैयाँ उपलब्ध गराएका छन्।
कर्मचारीलाई अर्ब रुपैयाँ खर्च गरेर बाँकी लगानीकर्तालाई वितरण गर्ने रकम भने वाणिज्य बैंकहरुले गत वर्ष १३ अर्ब ७१ करोड मात्रै आर्जन गरेका थिए। यसमा ४ वटा बैंकको वितरणयोग्य नाफा नकारात्मक छ।
यी बैंकका लगानीकर्ता गत आवको नाफाबाट यसपटक लाभांश पाउँदैनन्। वितरण योग्यनाफा नकारात्मक भएकै कारण गत वर्षको नाफाबाट चालू वर्षमा हिमालय, कुमारी, प्रभु र एनआइसी एसियाका लगानीकर्ताले लाभांश नपाउने भएका हुन्।
यसबाहेक गत वर्षको नाफाबाट लगानीकर्ताालाई वितरण गर्न मिल्ने गरी अन्य १६ वाणिज्य बैंकले २३ करोडदेखि पौने ४ अर्ब मात्रै वितरणयोग्य नाफा कमाएका छन्।
कुन बैंकका कर्मचारीको कमाइ कति
लिइसकेको तलबभत्ता र अब पाउने बोनससहित वाणिज्य बैंकले गत वर्ष कुल ६६ अर्ब ६ करोड ४० लाख १९ हजार रुपैयाँ कमाएका छन्। यसलाई ४९ हजार कर्मचारीमा औषतले विभाजन गर्दा १४ लाख ५६ हजार रुपैयाँ आउँछ। वाणिज्य बैंकका कर्मचारीको यस्तो औषत कमाइ १० लाखदेखि ३२ लाख रुपैयाँ छ।
यसमा सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्डका ३१ लाख ९८ हजार र सबैभन्दा कम प्रभु बैंकका कर्मचारीको १० लाख ७८ हजार रुपैयाँ रहेको छ।
यस्तै, गत वर्ष नबिलको १९ लाख २१ हजार, एभरेष्टको १७ लाख ३७ हजार र राष्ट्रिय वाणिज्य बैंकको १६ लाख ९८ हजार प्रतिकर्मचारी कमाइ छ। गत वर्ष सिद्धार्थ, कृषि विकास, सानिमा र नेपाल एसबिआइ बैंकका कर्मचारीले औषतमा १४ लाखदेखि पौने १५ लाख रुपैयाँसम्म कमाएका छन्।
उक्त अवधिमा लक्ष्मी सनराइज, माछापुच्छ«े, कुमारी र नेपाल बैंकका कर्मचारीले औषतमा १३ लाखदेखि १४ लाख रुपैयाँ कमाएका छन्। एनएमबी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीले १२ लाख हाराहारी कमाएका छन्।
यस्तै, गत वर्ष प्राइम, हिमालयन, एनआइसी एसिया र ग्लोबल आइएमई बैंकका कर्मचारीले औषतमा ११ लाख रुपैयाँ हाराहारी कमाउँदा सिटिजन्सका कर्मचारीको यस्तो कमाइ १० लाख ९६ हजार रुपैयाँ छ।