काठमाडौं । काठमाडौंको मुटु मानिने नयाँ बानेश्वर चोकमा २०७८ कात्तिक ८ मा सडकमा खाल्डो पर्यो। सुरुमा सिभिल अस्पताल अगाडि सानो खाल्डो देखिएको थियो। तर, मर्मत गर्न डोजरले खन्दा भित्र ठूलै खाल्डो भेटियो।
त्यस्तै, २०८० माघ १२ मा पनि नयाँ बानेश्वर चोकमै यात्रुवाहक बस गुडिरहेका बेला सडक भासियो। चोकबाट रत्नपार्कतर्फको सर्भिस लेन भासिएर पांग्रा फसेपछि बस कोल्टे परे पनि ठूलो क्षति भने भएन।
पछिल्लो पटक २०८१ भदौ २ मा फेरि नयाँ बानेश्वर चोकबाट शंखमूल जाने सडकमा भ्वाङ पर्यो। त्यहाँ सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सडक भ्वाङ परेको बताइयो।
२०८१ असार १९ मा काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासिएर दुई यात्रुसहितको मोटरसाइकलै खाल्डोमा पर्यो। उक्त सडकमा करिब ११ फिट गहिरो खाल्डो भएको थियो। दुई यात्रुको सकुशल उद्धार गरी खाल्डोमा डुबेको मोटरसाइकललाई क्रेनको सहायतामा बाहिर निकालियो। सोह्रखुट्टेमा पनि खानेपानी लिकेज भएर सडक भासिएको जनाउ सडक डिभिजन काठामाडौंले दियाे।
त्यस्तै, साउन २४ मा काठमाडौं महानगरको कमलादी कार्यालय नजिकै सडकमा भ्वाङ पर्यो। त्यहाँ करिब ५ मिटर गहिराइ र ४ मिटर चौडाइको खाल्डो भएको थियो। टुकुचा खोलामाथि रहेको ‘कल्भर्ट’ जीर्ण हुँदा भत्किएपछि सडकमा भ्वाङ परेको डिभिजन कार्यालयको भनाइ छ।
उपत्यकाभित्रको बस्ती विकास व्यवस्थित गरी ढल, पानी निकासलाई उपयुक्त व्यवस्था गर्नुपर्थ्याे। तर, पहिलादेखि अव्यवस्थित विकास हुँदै आएको उपत्यकामा मानवीय क्रियाकलापले निरन्तरता पाइरहँदा सडक भासिने तथा खाल्डो पर्ने क्रम बढेको भूगर्भविद्काे तर्क।
साउन ३० मा ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल जाने भित्री सडकमा भ्वाङ पर्यो। त्यहाँ करिब ३ मिटर क्षेत्रमा सडक भ्वाङ परेको थियो। तर, हाल ती सबै ठाउँमा सडक मर्मत भइसकेको सडक डिभिजन काठमाडौंका इन्जिनियर अर्जुन नेपाली बताउँछन्।
उपत्यकामा सडक भासिएका यी केही प्रतिनिधि घटना मात्रै हुन्।
सडक ‘सडक‘ मात्र नभई जमिन पनि हो। अर्थात्, काठमाडौं उपत्यकामा कहाँको जमिन कतिबेला भासिन्छ वा खाल्डो पर्छ, कसैलाई थाहा पत्ताे हुँदैन। इन्जिनियर नेपाली उपत्यकामा सडक खाल्डो पर्नुको मुख्य कारण खानेपानी र ढलका पाइप भएको बताउँछन्।
‘अहिले जति पनि सडक भत्किएको वा भासिएको छ, त्यसको वरिपरि खानेपानी र ढलका पाइपको चुहावट देखिन्छ,’ इन्जिनियर नेपाली भन्छन्, ‘जमिनमुनिका पाइप लिकेज हुने र सडकमाथि हेभी सवारी चलेपछि भासिने तथा खाल्डो भएको पाइन्छ।’
उपत्यकाभित्र भासिने सडकमध्ये बढी मात्रामा नयाँ बानेश्वर क्षेत्रमा समस्या देखिन्छ। नयाँ बानेश्वरमा पनि अन्य स्थानमा जस्तै लिकेजको समस्या रहेको उनले बताए।
के भन्छन् भूगर्भविद् ?
कुनै पनि स्थानको भौगर्भिक अर्थात् जमिनमुनिको अवस्था अध्ययन गर्ने काम भूर्गविद्हरुको हो। यद्यपि, सडक वा पूर्वाधारसम्बन्धी कुनै काम गर्दा आयोजना कार्यालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्छ। डिपिआर तयार गर्नु भनेको आयोजना स्थलको जमिन, वातावरणलगायत अवस्थाको अध्ययन गर्नु हो।
सम्बन्धित आयोजना कार्यालयले बाहेक खानी तथा भूगर्भ विभागले देशका मुख्य सहरको भौगर्भिक अवस्थाको अध्ययन गरेको हुन्छ। यद्यपि, खानी विभागले समग्र जमिनको अवस्था अध्ययन गर्ने भएकाले आयोजना निर्माणका लागि डिपिआर अध्ययन गर्नु अनिवार्य हुने भूगर्भविद् बताउँछन्।
खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक एवं भूगर्भविद् माेनिका झा उपत्यकामा सडक भासिइरहनुको मुख्य कारण भौगर्भिक नभई मानवीय क्रियाकलाप भएको बताउँछिन्। जर्मन सरकारको सहयोगमा विभागले सन् १९९८ मा काठमाडौं उपत्यकाको भौगर्भिक अवस्थाबारे अध्ययन प्रतिवेदन तयार गरेको उनले जानकारी दिइन्।
उक्त अध्ययनअनुसार उपत्यकाभित्रको बस्ती विकास व्यवस्थित गरी ढल, पानी निकासलाई उपयुक्त व्यवस्था गर्नुपर्थ्याे। तर, पहिलादेखि अव्यवस्थित विकास हुँदै आएको उपत्यकामा विभागले २६ वर्ष पहिला गरेको अध्ययनपछि पनि यसले निरन्तरता पाइरह्यो। फलस्वरुप सडक भासिने तथा खाल्डो पर्ने क्रम बढेको छ।
‘अहिलेको उपत्यका पानीको तलाउबाट बस्तीमा विकास भएको हो। त्यसैले यहाँ संरचना निर्माण गर्दा विशेष ख्याल गर्नुपर्ने भए पनि पहिलदेखि नै बेवास्ता गरिँदै आएको छ,’ भूगर्भविद् झाले क्यापिटल नेपालसँग भनिन्, ‘व्यवस्थित बस्ती विकास गरेको भए अहिलेको समस्या कम हुन्थ्यो। भौगर्भिक अवस्थाले उपत्यका सडक भासिने जोखिम धेरै छैन। अहिले मानव निर्मित क्रियाकलापले बढी असर पुगेको हाे।’
उनका अनुसार विभागले देशका मुख्य–मुख्य २४ सहरको भौगर्भिक अध्ययन गरिसकेको छ। अावश्यकताअनुसार अन्य स्थानमा पनि अध्ययन गरिने झाले बताइन्।
स्थानीय सरकारकाे भूमिका
आफ्नो क्षेत्रको बस्ती कसरी विकास गर्ने भन्ने विषयमा बढी सरोकार स्थानीय सरकारको हुन्छ। भूगर्भविद् झा स्थानीय सरकारले विभागबाट गरिएको अध्ययनलाई आधार मानेर विकास ‘मोडल’ अघि सार्नुपर्ने बताउँछिन्।
‘हाम्रो प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो निकाय स्थानीय सरकार हुन्। उनीहरुले आफ्नो क्षेत्र विकास कसरी गर्ने भनेर चासो दिनुपर्छ,’ उनी भन्छिन्, ‘विभागले अध्ययन गरेर सबै ठाउँमा सुझाव दिँदै हिँड्न सक्दैन तर भौगर्भिक अध्ययन गरेको क्षेत्रमा त्यहाँको अवस्थाबारे सकेसम्म भन्छौं। थप व्यवस्थित बनाउन सम्बन्धित निकायले पनि चासो दिनुपर्छ।’
हाल नगर विकास एवं स्मार्ट सिटी निर्माण गर्ने काम संघीय सरकारअन्तरगतको सहरी विकास मन्त्रालयबाट भइरहेको छ। सहरी मन्त्रालयले आफ्ना निकायबाट स्थानीय सरकारसँग समन्वय गरेर नगर र स्मार्ट सिटीको नाममा बस्ती विकास गर्दै आएको छ।